काठमाडौँ – झन्डै दुईतिहाइ बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा जुटेको छ। १८२ जना सांसदसहित रास्वपा अब राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा उभिएको छ।
संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्न बाँकी रहे पनि उनको इन्ट्रीसँगै पार्टीभित्र नयाँ शक्ति सन्तुलन र नेतृत्वको शैलीमा परिवर्तनको सङ्केत देखिएको छ। हिजोसम्म रवि लामिछानेको आक्रामक नेतृत्वमा अघि बढेको रास्वपामा अब बालेनको प्रवेशले व्यवस्थापकीय र कार्यान्वयनमुखी राजनीतिको अपेक्षा थप बलियो बनेको छ।
संसद् प्रवेशअघि रास्वपाले आफ्ना सांसदहरूलाई दुई दिने अभिमुखीकरण दिएको थियो। कार्यक्रमको सुरुवात उपसभापति डोलप्रसाद अर्याल र समापन सभापति रवि लामिछानेले गरे। भावी प्रधानमन्त्री बालेन शाह भने सुरुवात र समापन दुवै कार्यक्रममा उपस्थित भएनन्।
विगतमा पुराना दल र तिनका नेताहरूप्रति तुच्छ र आक्रामक अभिव्यक्ति दिने रास्वपा अहिले संयमित र जिम्मेवार भूमिकातर्फ उन्मुख देखिएको छ। झन्डै दुईतिहाइ बहुमतको जनादेशले पार्टीलाई केवल प्रतिपक्षी आलोचकबाट शासकीय जिम्मेवारी वहन गर्ने अवस्थामा पुर्याएको छ। यही परिवेशमा सभापति लामिछानेको शैलीमा देखिएको परिवर्तन अर्थपूर्ण मानिएको छ।
अभिमुखीकरणको समापन मन्तव्यमा लामिछाने शान्त, संयमित र जिम्मेवार रूपमा प्रस्तुत भए। चुनावी भाषणहरूमा देखिने उत्तेजना र आक्रामकता कम गर्दै उनले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्ने सन्देश दिए। विगतमा “राजनीतिक प्रतिशोधका कारण आफू फसाइएको” भन्दै मत मागेका लामिछानेमाथि अब त्यस्ता दाबीहरूको तथ्य सार्वजनिक गर्ने नैतिक र राजनीतिक दायित्व पनि थपिएको छ।
लामिछानेले आफ्ना सांसदहरूलाई कडा निर्देशन दिएका छन्। विगतका गलत प्रवृत्तिलाई निरन्तरता दिए सांसद पदबाट फिर्ता बोलाउनेसम्मको चेतावनी उनले दिएका छन्। ‘राइट टु रिकल’ कार्यान्वयनमा लैजाने प्रतिबद्धता दोहोर्याउँदै उनले जनताप्रति प्रत्यक्ष जबाफदेहिता सुनिश्चित गर्ने बताएका छन्।
उनले सांसदहरूलाई नियत सफा राख्न, कुनै पनि बहानाबाजी नगर्न र मन्त्री बन्ने दौडधुपमा नलाग्न स्पष्ट निर्देशन दिएका छन्। आफ्नो विगतको अनुभव सुनाउँदै स्वार्थ समूह र शक्तिकेन्द्रका घर–घर धाउने पुरानो राजनीतिक संस्कार दोहोरिन नदिने चेतावनी पनि दिएका छन्।
जेनजी आन्दोलनपछिको निर्वाचन परिणामले करिब ३५ वर्ष सत्तामा रहेका दलहरूलाई गम्भीर सन्देश दिएको उल्लेख गर्दै लामिछानेले अब जनताले पुराना दललाई जस्तो लामो समय कुर्ने अवस्था नरहेको बताएका छन्। “अब ३५ वर्ष होइन, ३५ दिन पनि कुर्ने अवस्था छैन,” उनले भने।
उनले पार्टीभित्र एकता कायम राख्न आग्रह गर्दै रास्वपा फुटाउन लाग्नेहरुप्रति सतर्क रहन सांसदहरूलाई सचेत गराए। सरकार गठन भएलगत्तै ढाल्ने प्रयास हुने दाबी गर्दै उनले संयमित, मर्यादित र परिणाममुखी राजनीतिको अभ्यास गर्न निर्देशन दिए। विपक्षीमाथि तुच्छ शैलीमा प्रस्तुत हुने प्रवृत्ति रोक्न पनि उनले आग्रह गरेका छन्।
रास्वपा पहिलो पटक संसदमा आएको भने होइन। २०७९ को निर्वाचनमा २१ सिटसहित संसद् प्रवेश गरेको रास्वपा त्यसपछि दुई पटक सरकारमा सहभागी भइसकेको छ। लामिछाने स्वयं दुई पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए। तर अहिलेको बहुमतले पार्टीलाई पूर्ण कार्यकारी जिम्मेवारीमा पुर्याएको छ, जहाँ विगतका अनुभवलाई परिणाममा रूपान्तरण गर्नुपर्ने चुनौती छ।
अभिमुखीकरणको समापनमा लामिछानेले केही तिता र केही मिठा अनुभव सुनाउँदै पार्टी अब पूर्ण रूपमा जनताको काम गर्न उदाएको सन्देश दिएका छन्। सांसदहरूले पनि “सुशासनका लागि मुहान नै सफा गर्ने” प्रतिबद्धता जनाउँदै ‘डे वन’ देखि काम सुरु गर्ने बताएका छन्। भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने रास्वपाको केन्द्रीय चुनावी वाचा अब परीक्षणको चरणमा प्रवेश गरेको छ।
राजनीतिक विश्लेषकहरूले रास्वपा अब जोसभन्दा होसमा अघि बढ्नुपर्ने सुझाव दिएका छन्। मूलधारको राजनीतिमा स्थापित भइसकेपछि विगतको आक्रोश होइन, वर्तमानको कार्यसम्पादनले नै भविष्य निर्धारण गर्ने बताएका छन्। राजनीतिक विश्लेषक डम्बर खतिवडा विगतको रास्वपा र अहिलेको रास्वपाको सन्दर्भ नै फरक रहेको बताउँछन्।
रास्वपाले १०० बुँदे बाचापत्र सार्वजनिक गर्दै भोट मागेको थियो। सार्वजनिक सेवा प्रणालीलाई अनलाइनमा रूपान्तरण गर्ने, प्रशासनिक पारदर्शिता बढाउने र भ्रष्टाचार नियन्त्रण गर्ने जस्ता प्रतिबद्धता अब कार्यान्वयनको चरणमा छन्। सभापति लामिछानेको बदलिएको शैली र बालेन शाहको इन्ट्रीसँगै रास्वपाले जनतासामु गरेको वाचा व्यवहारमा उतार्नुपर्ने दबाब अझ बढेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.