काठमाडौँ – नेपाल बार एशाेसिएसनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ। “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने नारासहित चैत ६ र ७ गते सम्मेलन सञ्चालन हुने आयोजकले जनाएको छ।
भक्तपुर जिल्ला अदालत बारको आतिथ्ययतामा हुने सम्मेलनमा देशभरका कानुन व्यवसायी महिलाहरूको सहभागिता हुने नेपाल बार एशाेसिएसन भक्तपुरका अध्यक्ष राम सुन्दर खाइतुले जानकारी दिए।
उनका अनुसार सम्मेलनमा बारमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता, अधिवक्ता, अभिवक्ता, साथै नेपाल बार एशाेसिएसनका पूर्व पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि उनले आग्रह गरे।
भक्तपुरमा हुने सम्मेलनले नेपालमा महिला अधिकार तथा “महिलाको समानुपातिक समावेशिता : परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” सम्बन्धमा घोषणापत्र पनि जारी हुने अपेक्षा लिइएको उनले जानकारी दिए।
सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बारका सचिव अनीश सुवालले जानकारी दिए। ६ गते बिहान भक्तपुरको दत्तात्रय मन्दिरबाट प्रभात फेरी निकालेर कार्यक्रमको सुरु गरिने समेत उनले जानकारी दिए।
प्रभात फेरी दत्तात्रय हुँदै ख्वप बैंक्वैट नगरकोट रोडमा पुगेर उद्घाटन हुने र दोस्रो दिन भक्तपुर जिल्ला अदालतको सभा कक्षमा विभिन्न विषयहरूमा विषय विज्ञका साथमा छलफल हुने उनले जानकारी दिए।
आयोजकले सम्मेलनमा सहभागी हुने सबैलाई अनिवार्य रूपमा कालो कोटसहित मर्यादित पहिरनमा उपस्थित हुन आग्रह गरेको छ।
सम्मेलनले महिला कानुन व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्त्वपूर्ण छलफल गर्ने विश्वास लिइएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.