देउवा पक्षको ‘निहुँ खोज्ने राजनीति’ले कांग्रेस सङ्कटमा

देउवा पक्षको ‘निहुँ खोज्ने राजनीति’ले कांग्रेस सङ्कटमा

गगन थापाको राजीनामा अस्वीकृत

87
SHARES

काठमाडौँ – चुनावी परिणामको नतिजा अर्कैतिर ट्रान्सफर भएपछि नेपाली कांग्रेसमा शेरबहादुर देउवा पक्ष निहुँ खोज्न थालेको टिप्पणी गरिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले चुनावी समीक्षा सकाएर सामूहिक जिम्मेवारीको निष्कर्ष निकाले पनि देउवा पक्ष भने छुट्टै समीक्षाको तयारीमा लाग्दा आन्तरिक विवादलाई थप चर्काउने सङ्केत देखिएको छ।

स्वर्गीय प्रदीप गिरीले उतिबेलै दिएको अभिव्यक्तिअनुसार देउवा स्वार्थ समूहको घेराबाट बाहिर निस्कन नसकेको आरोप पुनः चर्चामा आएको छ। सोही समूहको नेतृत्व यतिबेला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेको आरोप लागिरहेको छ। यसले कांग्रेसभित्रको शक्ति सङ्घर्षलाई थप उजागर गरेको छ।

घर झगडा गर्दै निहुँ खोज्ने प्रवृत्तिमा देउवा समूह लाग्दा कांग्रेस दुई टुक्रा हुने जोखिमतर्फ उन्मुख भएको विश्लेषण भइरहेको छ। विशेष महाधिवेशनको विपक्षमा रहेका र प्रतिनिधिसभा चुनाव हारेका नेताहरूले केन्द्रीय समिति बैठकमै अनुपस्थित भई छुट्टै छलफल गर्नुले पार्टीभित्रको विभाजन स्पष्ट देखिएको छ।

पूर्वउपसभापति खड्काको निवासमा भएको छलफलले केन्द्रीय समिति बैठक बोलाउने जिम्मा खड्कालाई नै दिने निर्णय गरेको नेता मिन विश्वकर्माले जानकारी दिएका छन्।

चुनावको समीक्षा गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा अनुपस्थित देउवा पक्ष निहुँ खोज्दै छुट्टै बस्ने तयारीमा लागेको हो। आफू बाहेक अरूको नेतृत्व स्वीकार गर्न नसक्ने प्रवृत्ति देखिएको देउवा समूहले विशेष महाधिवेशनदेखि नै असन्तुष्टि जनाउँदै आएको छ। यही कारणले कांग्रेसले चुनावमा नराम्रो पराजय भोग्नु परेको टिप्पणी समेत भइरहेको छ।

कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामलाई एक व्यक्तिको मात्र नभई समग्र पार्टीको साझा जिम्मेवारीका रूपमा लिएको निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनबाट चयन भई करिब ५० दिन मात्र जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिलाई मात्र दोष दिन नमिल्ने निर्णय बैठकले गरेको हो।

देशको मौजुदा परिस्थितिमा नेपाली कांग्रेसको सभापतिको रूपमा गगन कुमार थापाले निर्वाह गर्नुपर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको भन्दै बैठकले उनको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ। साथै, समयमै १५औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीलाई ध्यानमा राख्दै थापालाई पूर्ववत् जिम्मेवारीमा फर्किन आग्रह गरिएको छ।

तर, देउवा पक्ष भने विशेष महाधिवेशनकै कारण चुनावमा पराजय भएको दाबी गर्दै त्यसैलाई मुख्य कारणका रूपमा अघि सारिरहेको छ। नेतृत्व हस्तान्तरण गर्न अनिच्छुक पुरानो संस्कार देउवाले निरन्तरता दिएको आरोपसमेत लागिरहेको छ।

फागुन २१ को चुनावका क्रममा सार्वजनिक रूपमा कुनै धारणा नदिई लुसुक्क सिंगापुर गएका देउवा मतदानको संवेदनशील समयमा देशबाहिर गएको विषय पनि विवादको केन्द्रमा परेको छ। उनी नेपाल फर्किन लागेसँगै विशेष महाधिवेशनका विपक्षीहरू सक्रिय बन्दै चुनावी हारको दोषारोपण तीव्र बनाउँदै ‘बुरुकबुरुक’ गर्न थालेका छन्।

जनताको हितभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको आरोप लागेका नेताहरूले आफ्नो विगतको प्रभाव देखाउँदै चुनावी पराजयको कारण विशेष महाधिवेशनलाई देखाइरहेका छन्। यसले उनीहरूको राजनीतिक नैतिकता र इमानदारितामाथि प्रश्न उठाएको टिप्पणी गरिएको छ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालासँगको विवादपछि प्रजातान्त्रिक कांग्रेस गठन गरेका देउवा पक्ष अहिले फेरि छुट्टै बैठक बोलाएर पार्टी दुई टुक्रा भएको सन्देश दिन खोजेको आरोप लागेको छ। यद्यपि देउवा पक्षीय नेता मिन विश्वकर्माले कांग्रेस औपचारिक रूपमा विभाजित नभई दुई समूहमा मात्र रहेको बताएका छन्।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन नभएको भए चुनावमा अझ लज्जास्पद हार व्यहोर्नुपर्ने यथार्थलाई ओझेलमा पार्ने प्रयास भइरहेको आरोप पनि लगाइएको छ। चुनावमा कमजोर प्रदर्शन गरेका नेताहरूले समेत पार्टी विभाजनको आरोपको स्पष्ट खण्डन गर्न नसकेको अवस्था देखिएको छ।

देउवा पक्षीय नेता श्याम घिमिरेले भने औपचारिक रूपमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय नभएको र हाल अनौपचारिक छलफल मात्र भइरहेको बताएका छन्।

कांग्रेसभित्रको आन्तरिक द्वन्द्वले भातृ संस्थाहरूलाई पनि प्रभावित बनाएको छ। महाधिवेशन नै नगरी टिके प्रथाबाट चल्दै आएको नेपाल विद्यार्थी सङ्घले सानेपा पुगेर ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र बुझ्दै विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज घिमिरेले पार्टी विषम परिस्थितिमा रहेको बताएका छन्।

कांग्रेसले ५ मतदेखि ३ हजारभन्दा कम मतान्तरमा पराजित भएका क्षेत्रहरूलाई आन्तरिक कारण अर्थात् अन्तर्घातको परिणामका रूपमा विश्लेषण गरेको छ। २१ वटा निर्वाचन क्षेत्रमा आन्तरिक कारणले हार व्यहोर्नुपरेको निष्कर्ष केन्द्रीय समिति बैठकले निकालेको प्रवक्ता देवराज चालिसेले बताएका छन्।

कांग्रेसमा ८ लाख ७० हजार क्रियाशील सदस्य रहेका छन्। एक सदस्यको परिवारबाट औसत ४ मत आउने अनुमानका आधारमा ३२ देखि ३५ लाख मत पाउने अपेक्षा गरिएको थियो। तर फागुन २१ को चुनावमा समानुपातिकतर्फ कांग्रेसले मात्र १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको छ।

नवौँ महाधिवेशनमा १ लाख रहेको क्रियाशील सदस्य संख्या १४औँ महाधिवेशनसम्म आइपुग्दा ८ लाख ७० हजार पुगे पनि मत भने घट्दो क्रममा रहेको तथ्यले सङ्गठन र मतदाताबीच दूरी बढेको सङ्केत गरेको छ।

कांग्रेसले यसलाई केवल मत घटेको मात्र नभई ‘माइण्डसेट माइग्रेसन’ भएको रूपमा विश्लेषण गरेको छ। मतदाताको विश्वास अन्य दलतर्फ सरेको र कार्यकर्ता–मतदाता सम्बन्ध कमजोर भएको विषयमा पनि समीक्षा गरिएको प्रवक्ता चालिसेले बताएका छन्।

तर, देउवा पक्षीय नेताहरू भने मतदातासँगको सम्बन्ध सुधार गर्नुको साटो झनै चर्काउने गतिविधिमा लागेको आरोप लागिरहेको छ। यसलाई पार्टी सुधारभन्दा पनि सङ्गठन कब्जाको प्रयासका रूपमा कांग्रेसी वृत्तमा व्याख्या गर्न थालिएको छ।

कमजोर प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेस आन्तरिक विवादमै अल्झिँदा थप कमजोर बन्ने जोखिम देखिएको छ। केन्द्रीय समितिले यस अवस्थालाई नोटिसमा लिएर समीक्षा गर्ने जनाएको छ।

कांग्रेसभित्र निहुँ खोज्ने देउवा पक्षको गतिविधिले सत्तापक्षलाई अप्रत्यक्ष रूपमा बल पुर्‍याइरहेको आरोपसमेत लागेको छ। यस्तो अवस्थामा फुट होइन, एकता मार्फत गुमेको जनविश्वास फर्काउनु नै कांग्रेसका लागि उपयुक्त मार्ग हुने सुझावहरू आएका छन्। देउवा समूहको छुट्टै केन्द्रीय समिति बैठक अनौपचारिक छलफलमै सीमित रहोस् भन्ने अपेक्षा समेत व्यक्त गरिएको छ।

यो पनि : चुनावले थला परे कांग्रेस-कम्युनिष्ट, शपथपछि मात्र दलको नेता चयन

समाचार शेयर गर्नुहोस्
87
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.