काठमाडौँ – नेपाली काँग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन २०८३ भदौ २४, २५ र २६ गते हुने भएको छ। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नै महाधिवेशनको मिति तोकेको हो।
कांग्रेसले भदौ १५ र १६ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ भने भदौ ६ र ७ गते जिल्ला अधिवेशन गर्ने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ। साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तथा एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय कांग्रेसले गरेको छ। उक्त अधिवेशनले महाधिवेशन प्रतिनिधि चयन र कार्यसमिति निर्वाचन गर्नेछ।
यसैगरी, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन १२ गते गाउँ नगरपालिका अधिवेशन हुनेछ। साउन ६ गते गाउँ–नगर वडा अधिवेशन हुनेछ र ६७४३ वटै वडामा अधिवेशन सम्पन्न गरी क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ। साउन मसान्तभित्र नेपाली जनसम्पर्क समिति अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ।
असार मसान्तभित्र क्रियाशील सदस्यता नामावली केन्द्रमा पठाउने, साउन १० भित्र सबै जनसम्पर्क समितिको क्रियाशील सदस्यता स्वीकृत गर्ने र साउन मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ। असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने मिति तोकिएको छ।
केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया सुरु हुनुपूर्व नै निर्वाचन समितिलाई उपलब्ध गराउने र निर्वाचन समितिले धारा ३५(२)(च) अनुसार निर्वाचनको विस्तृत क्यालेन्डर बनाउने भनिएको छ।
असार १५ सम्म केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुङ्ग्याउने अवधि तोकिएको छ। प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन तथा विवाद र समस्या भएका स्थान पहिचान गरी सदस्यता रुजु तथा अध्ययन गर्ने र अन्तिम टुङ्गोमा पुर्याउने उल्लेख गरिएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सदस्यताको अन्तिम सूची केन्द्रीय कार्यसमितिलाई बुझाउने भनिएको छ।
जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने अवधि तोकिएको छ। क्षेत्र र जिल्लाले इन्ट्री गरी केन्द्रमा पठाइसक्ने जेठ २५ सम्मको समय निर्धारण गरिएको छ भने जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीमाथि छानबिन गरी केन्द्रमा पठाउनुपर्नेछ।
२०८२ चैत २१ गतेदेखि चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। सदस्यता फारम सबै तहमा पुर्याउने, सदस्यता वितरण तथा अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ।
२०८३ वैशाख १ देखि वैशाख मसान्तसम्म ६७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ। प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। सबै वडा र क्षेत्रीय कार्यसमितिलाई आइडी र पासवर्ड उपलब्ध गराइनेछ र वैशाख महिनाभरि वडा स्तरमा एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ।
जेठ १ देखि १५ सम्म वडाबाट प्रतिनिधिसभा क्षेत्र र जिल्लामा विवरण पठाइसक्ने व्यवस्था मिलाइएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.