विज्ञान पढेर पनि भविष्य अनिश्चित: कहिले सुध्रिन्छ नेपालको प्रणाली?

विज्ञान पढेर पनि भविष्य अनिश्चित: कहिले सुध्रिन्छ नेपालको प्रणाली?

201
SHARES

नेपालमा विज्ञान र प्रविधि विकासको आधार मानिए पनि व्यवहारमा यो क्षेत्र अझै प्राथमिकतामा परेको देखिँदैन। बायोटेक्नोलोजी र माइक्रो बायोलोजी जस्ता आधुनिक र सम्भावनायुक्त विषय अध्ययन गर्ने विद्यार्थीहरू अवसरको अभाव, अस्पष्ट नीति, र कमजोर संरचनाका कारण निराश हुन बाध्य छन्।

कलेज र विश्वविद्यालयमा कोर्सहरू सञ्चालन भइरहेका भए पनि गुणस्तरीय प्रयोगशाला, अद्यावधिक पाठ्यक्रम, र आवश्यक रासायनिक पदार्थ तथा प्रयोगशालाका सामग्री समयमै नपाउँदा विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गर्न कठिनाइ भोगिरहेका छन्। अनुसन्धान र प्रयोगात्मक अभ्यासको उपयुक्त वातावरणको अभावले ती कोर्सहरू प्रायः केवल कागजी उपलब्धिमा सीमित छन्।

विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान त प्राप्त गर्छन्, तर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने व्यावहारिक सीप विकास गर्न भने कठिनाइ भोगिरहेका छन्। अध्ययन पूरा गरेपछि सरकारी क्षेत्रमा रोजगारी पाउने अवसर अत्यन्त सीमित छ; धेरै वर्षसम्म रिक्त पदमा पदपूर्ति नहुने, खुल्दा पनि सिट सङ्ख्या नगण्य हुने, र विषय अनुसार छुट्टै पद संरचना नहुनुले विद्यार्थीहरूलाई अन्योलमा पारिरहेको छ। यसैकारण धेरै योग्य युवाहरू बिदेसिन बाध्य हुन्छन्, जसलाई‘मस्तिष्क पलायन’को रूपमा हेरिन्छ।

स्वास्थ्य र मेडिकल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लाइसेन्स प्रणाली अस्पष्ट र जटिल भएकोले माइक्रो बायोलोजी वा बायोटेक्नोलोजीका स्नातकहरूले आफ्नो पेसामा प्रवेश गर्न कठिनाइ भोगिरहेका छन्, जसले गर्दा उनीहरूको समय, ऊर्जा र आर्थिक स्रोत दुवै खेर जान्छ। यसबीचमा सबैभन्दा बढी प्रभावित गरिब र जेहेन्दार विद्यार्थी, र सामाजिक रूपमा पिछडिएका विद्यार्थीहरू, विशेषगरी महिला विद्यार्थीहरू, जसले उच्च शुल्क, सामाजिक दबाब, र सीमित छात्रवृत्तिका कारण उच्चशिक्षा बीचमै छोड्नु पर्ने वा कम प्राथमिकताका क्षेत्र रोज्नुपर्ने बाध्यता भोगिरहेका छन्।

उच्च शुल्क, महँगो प्रयोगशाला खर्च, सीमित छात्रवृत्ति, सामाजिक दबाब र परिवारको अपेक्षाका कारण उनीहरूले उच्चशिक्षा बीचमै छोड्नु पर्ने वा कम प्राथमिकताका क्षेत्र रोज्न बाध्य हुन्छन्। यसले केवल व्यक्तिगत क्षतिको विषय होइन, राष्ट्रकै सम्भावनाको क्षति हो, किनकि आधा जनसङ्ख्याले विकासमा योगदान दिन नसक्दा समग्र वैज्ञानिक क्षमता कमजोर हुन्छ।

समाधानका रूपमा सरकारले विज्ञान तथा प्रविधिलाई वास्तविक प्राथमिकतामा राख्दै महिला–मैत्री नीति अवलम्बन गर्नुपर्छ, सुरक्षित र समावेशी शिक्षण वातावरण सुनिश्चित गर्नुपर्छ, आधुनिक प्रयोगशाला, अद्यावधिक पाठ्यक्रम र बलियो अनुसन्धान प्रणाली उपलब्ध गराउनुपर्छ। साथै, बायोटेक्नोलोजी र माइक्रोबायोलोजीका लागि स्पष्ट सरकारी पद संरचना, नियमित भर्ना प्रक्रिया, पारदर्शीलाई सेन्सप्रणाली, र लक्षित छात्रवृत्ति तथा फेलोसिप कार्यक्रम लागू गर्नु आवश्यक छ।

सरकारी रोजगारीमा समावेशी कोटा, समान अवसर र मार्गदर्शन कार्यक्रम मार्फत महिला विद्यार्थीलाई प्रतिस्पर्धामा टिक्न सहयोग पुर्‍याउनुपर्छ। यदि यी सुधारहरू नआए विज्ञान पढेका युवाहरू, विशेषगरी महिला र गरिब विद्यार्थीहरू, बिदेसिन बाध्य हुनेछन्, र त्यससँगै देशले आफ्नो भविष्य गुमाउने खतरा बढ्नेछ। यदि नीति र व्यवहारबीचको खाडल घटाइएन भने विज्ञानमा अध्ययन गर्नु केवल सपना देख्नु जस्तै बन्नेछ।

समाचार शेयर गर्नुहोस्
201
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.