ओखलढुङ्गा – प्रतिनिधिसभा निर्वाचनमा ओखलढुङ्गाबाट प्रत्यक्ष उम्मेदवार रहेकी एक मात्र अन्य लैङ्गिक पहिचानकी पिंकी राईले खर्च विवरण सार्वजनिक गरेकी छन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्दै आफ्नै राजनीतिक दलसहित पहिलो पटक राष्ट्रिय चुनावमा प्रतिस्पर्धा गरेकी राईले चुनावमा भएको खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएकी हुन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तेस्रोलिंगी नेतृत्वको समावेशी समाजवादी पार्टीबाट उम्मेदवार रहेकी राईले निर्वाचन प्रक्रियामा सहभागी हुँदै मतदातामाझ आफ्नै पहिचानबारे बुझाउनुपर्ने चुनौतीकाबीच चुनाव लडेकी थिइन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३ हजार ४०६ उम्मेदवारमध्ये राई एक मात्र अन्य लैङ्गिक पहिचानकी उम्मेदवार थिइन्। उनले मनोनयन दर्तामा आधा छुट पाएकी थिइन्।
राईको चुनावी खर्च १० हजार रुपैयाँ भएको छ। उनले मनोनयन दर्ता शुल्क ५ हजार, खाजा खर्च ८ सय र पेट्रोल ४ हजार २ सय रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएकी छन्।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायकी प्रतिनिधि उम्मेदवार राईसँगै ओखलढुङ्गामा १५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। राईले ६ जना उम्मेदवारलाई मतका आधारमा पछि पारेकी छन्।
उनले मितेरी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह) र २ स्वतन्त्र उम्मेदवारभन्दा बढी मत प्राप्त गरिन्।
पिंकीले समावेशी समाजवादी पार्टीका प्रत्यक्षतर्फका ६ जना उम्मेदवारमध्ये बढी मत प्राप्त गरिन्। उनले १०० मत ल्याएकी छन्। ओखलढुङ्गाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल जम्मा ५ मतान्तरमा निर्वाचित भए। मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुईटेलसहित अन्य दलका उम्मेदवार पराजित भए।
समावेशी समाजवादी पार्टीबाट राईसँगै काठमाडौँ १ बाट सुरेन्द्र पाण्डे, १० बाट पूर्णचन्द्र पौडेल, रुपन्देही २ बाट देवेन्द्र बहादुर खत्री, काभ्रेपलान्चोक १ बाट विनोद लामा र मोरङ ४ बाट पार्टीकी अध्यक्ष समेत रहेकी नुमा लिम्बु प्रत्यक्षतर्फका उम्मेदवार थिए।
यो पनि : तेस्रोलिंगी नेतृत्वको दलको देशभर उपस्थिति, कुन क्षेत्रबाट कति मत?
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.