काठमाडौँ – नेकपा एमालेले वैशाख १२ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ। अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झन्डै दुई तिहाइ नजिकको बालेन शाह सरकारले शनिवार बिहान ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो।
जेनजी जाँचबुझ आयोगको सिफारिस अनुसार पक्राउ परेका ओली र लेखकलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा रिहा गर्न अस्वीकार गरेको छ।
काठमाडौँ केन्द्रित आन्दोलन गरेको एमालेले अब देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।
पुर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको एमालेले घोर भर्त्सना गरेको छ।
एमाले सचिवालय बैठकले चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने निर्णय गरेको छ।
चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने एमाले सचिवालय बैठकले गरेको छ।
एमाले सचिवालय बैठकले सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसङ्गठनहरूले आ–आफ्नो ढङ्गले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने भनेको छ।
चैत १८ गते ११ बजे जनसङ्गठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने र सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिने निर्णय एमाले सचिवालय बैठकले गरेको छ।
एमाले सचिवालय बैठकले संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिएको छ।
एमालेले बुधवार दिउँसो ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने गरी बोलाएको छ। आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.