पुरानै नियमावलीमा संसद् बैठक, चैत २२ मा सभामुख निर्वाचन

पुरानै नियमावलीमा संसद् बैठक, चैत २२ मा सभामुख निर्वाचन

६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने

66
SHARES

काठमाडौँ – प्रतिनिधिसभाको पहिलो बैठक पुरानै नियमावली अनुसार सञ्चालन हुने भएको छ। नयाँ नियमावली नबनेको अवस्थामा पहिलो बैठक पुरानै नियमावली अनुसार सञ्चालन गर्न सर्वदलीय सहमति भएको छ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बोलाएको सर्वदलीय बैठकमा प्रतिनिधिसभाको बैठक पुरानै नियमावली अनुसार सञ्चालन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कबिन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार नयाँ नियमावली नबनेसम्म पुरानै नियमावली अनुसार बैठक सञ्चालन हुनेछ।

सभामुख चयनको प्रस्ताव बिहीबार बस्ने पहिलो बैठकमा प्रस्तुत हुनेछ। २० गते सभामुखका दाबेदारले मनोनयन गर्ने तालिका तय भएको छ। चैत २२ गते निर्वाचन हुने तालिकामा छलफल भएको बुर्लाकोटीले बताए। पहिलो बैठकमा जेनजी आन्दोलन र अन्य आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिनेछ।

पहिलो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बिहीबार बस्ने संसद्को पहिलो बैठकमा शीर्ष नेताहरूले शुभकामना दिनेछन्। कुन दलका शीर्ष नेताले कति समय पाउने भन्ने तयारीबारे सर्वदलीय बैठकमा छलफल भएको बुर्लाकोटीले बताए।

कार्य व्यवस्था र संसदीय समितिमा रहने सदस्यको संख्याका विषयमा भने दलहरूबीच अझै छलफल गर्नुपर्ने देखिएको बुर्लाकोटीले जानकारी दिए। रास्वपाको संख्या बढी भएकाले दलभित्र थप छलफल आवश्यक रहेको उनले बताए।

सर्वदलीय बैठकमा एमालेले अध्यक्ष केपी ओली पक्राउको विषयमा कुनै चर्चा गरेन। प्रतिनिधिसभाको बैठकमा विरोध गर्ने सङ्केत नदिएकाले बैठक सुचारु रूपमा चल्ने देखिएको उनले बताए। कुनै पनि दलले पहिलो बैठकमा विरोध गर्ने विषय नराखेको उनले उल्लेख गरे।

प्रतिनिधिसभा नियमावली निर्माणको क्रममा रहेको र एक जना सदस्य एउटा समितिमा मात्रै रहने व्यवस्था हुने उनले बताए। १० जना सदस्य भएको दलले हरेक समितिमा १/१ जना सदस्य पाउने देखिएको छ।

तर १० जनाभन्दा कम संख्या भएका श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाका सबै विषयगत समितिमा प्रतिनिधित्व नपाउने भएका छन्। एक जना सदस्य दोहोरो समितिमा बस्न नपाउने व्यवस्था नियमावलीमा गरिने उनले बताए।

समाचार शेयर गर्नुहोस्
66
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.