काठमाडौँ – जेनजी आन्दोलनले विघटन गराएको प्रतिनिधिसभा बिहीबारदेखि ब्यूँतिँदैछ। गत भदौ २७ गते विघटन भएको संसद् लामो अन्योल र अस्थिरतापछि पुनः संवैधानिक लयमा फर्किँदैछ। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित नयाँ जनप्रतिनिधिहरूको पहिलो बैठक बस्दैछ।
दिउँसो २ बजे बस्ने पहिलो बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामुख चयनको मिति तोक्ने, तीन वटा अध्यादेश पेस गर्ने र शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि प्रतिपक्षी दल नेकपा एमाले नेतृत्वविहीन जस्तै अवस्थामा देखिएको छ। ओली हिरासतमा रहेकै बीच एमालेले संसद् बैठक बस्ने अघिल्लो दिन हतारहतार तत्कालीन माओवादी युद्धका सैन्य कमान्डर रामबहादुर थापा बादललाई संसदीय दलको नेता चयन गरेको छ।
बादल, जो माओवादी सशस्त्र द्वन्द्वकालमा प्रमुख सैन्य कमान्डरका रूपमा परिचित थिए, पछि विभिन्न राजनीतिक उतारचढाव पार गर्दै एमालेमा प्रवेश गरेका हुन्। उनको यही विगतको भूमिका अहिले पुनः चर्चामा आएको छ, जहाँ संसदभित्र पूर्व विद्रोही कमान्डरको रूपमा उनी दलको नेता बनेका छन्।
दलको नेतामा इलाम–२ बाट निर्वाचित सुहाङ नेम्वाङले दाबी गरेका थिए। तर, एमालेले नेम्वाङलाई दबाबमा उम्मेदवारी फिर्ता लिन लगाएर बादललाई दलको नेता मात्र होइन, ओली हिरासतमा रहेकाले पार्टीको कार्यवाहक अध्यक्षसमेत बनाएको छ।
प्रस्तावक र समर्थक नै नपाएर उम्मेदवारी फिर्ता लिएको भन्ने हल्लालाई भने नेम्वाङले खारेज गरेका छन्। उनले आफू कुनै दबाबमा नपरेको दाबी गरेका छन्।
प्रतिनिधिसभामा अब सशस्त्र युद्धका दुई प्रमुख पात्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर बादल फरक–फरक दलबाट दलका नेताका रूपमा आमनेसामने हुने भएका छन्। संख्याका हिसाबले एमालेसँग २५ सिट रहेको छ भने प्रचण्ड नेतृत्वको दलसँग १७ सदस्य मात्र छन्।
ओली पक्राउसँगै आक्रोशित बनेको एमाले संसदमा भने निरीह रूपमा प्रस्तुत हुने सङ्केत देखिएको छ। एमाले संसदीय दलको बैठकले संसदमा कुनै अवरोध नगर्ने निर्णय गरेको छ। ओली पक्राउबारे सरकारसँग प्रश्न उठाउने भए पनि सदन अवरोध नगर्ने नीति एमालेले लिएको छ।
अघिल्लो संसदमा कमजोर प्रतिपक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टी फागुन २१ को चुनावी परिणामपछि बलियो सत्ता पक्षको रूपमा उभिएको छ। झन्डै दुई तिहाइ बहुमतको सरकार गठन भएको भोलिपल्टै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर हिरासतमा राखिएको छ।
लेखकको बयान लिन सुरु भइसकेको छ भने ओली स्वास्थ्य अवस्थाका कारण अस्पतालमै छन्। प्रहरीले अदालतबाट ५ दिनका लागि लिएको अनुमति बिहीबार सकिँदैछ। ओलीको बयान सुरु नभएकाले पुनः म्याद थपका लागि अदालतसँग अनुमति लिने तयारी छ।
ओली हिरासतमा रहँदा एमालेले संसदीय दलको नेता मात्र होइन, पार्टी अध्यक्षको जिम्मेवारीसमेत बादललाई दिएको छ।
तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस झन् नेतृत्वविहीन अवस्थामा देखिएको छ। कांग्रेसले अझैसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन। कांग्रेसमा ज्येष्ठ सदस्यका रूपमा सभामुखको भूमिका निर्वाह गरिरहेका अर्जुननरसिंह केसीले समेत दलको नेतामा दाबी गरेपछि झन् अन्योल बढेको छ। यसले संसद्को पहिलो बैठकमा प्रमुख प्रतिपक्ष नै नेता विहीन उपस्थित हुने अवस्था सिर्जना गरेको छ।
दलको नेता चयनबारे टुङ्गोमा पुग्न नसकेको कांग्रेसले अब तत्काल बैठक बसेर निर्णय गर्ने प्रवक्ता देवराज चालिसेले बताएका छन्।
एकातिर एमाले आफ्ना शीर्ष नेता ओली पक्राउ परेपछि दबाबमा रहेको छ भने अर्कोतर्फ प्रमुख प्रतिपक्ष कांग्रेस नेता विहीन अवस्थामै संसदमा प्रवेश गर्दैछ।
अन्योल र अस्थिरताबीच सम्पन्न निर्वाचनपछि देश पुनः संवैधानिक लयमा भने फर्किएको छ। अब संसद्ले आफ्नो संवैधानिक भूमिका अनुसार कानुन निर्माण गर्ने, सरकारलाई जबाफदेही बनाउने र जनताको आवाज उठाउने अपेक्षा गरिएको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.