काठमाडौँ – सन् २००८ मा संयुक्त राष्ट्रसङ्घले विश्व अटिजम सचेतना दिवस घोषणा गरेपछि विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरी अटिजमसम्बन्धी सचेतना फैलाउने परम्परा स्थापित भएको छ। यस दिन अटिजम भएका व्यक्तिहरूका चुनौती तथा लक्षणहरू समाजलाई बुझाउने मात्र नभई उनीहरूका सीप, कला र दक्षता चिनाउने अवसरका रूपमा पनि लिइन्छ। विकसित राष्ट्रहरूमा त सरकारी तहबाटै यस दिवसलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ।
यस वर्ष “भिन्नतालाई स्विकार्दै, समावेशी मानवता निर्माण गरौँ” भन्ने नारासहित दिवस मनाइएको छ। सन् २०२५ को तथ्यांकअनुसार प्रत्येक ३१ जना बालबालिकामध्ये एक जना अटिजमको अवस्थासहित जन्मने देखिएको छ। यस्तो बढ्दो संख्या हरेक राष्ट्रका लागि चुनौती र चिन्ताको विषय बन्दै गएको छ।
यी बालबालिकाहरू भविष्यमा वयस्क बन्छन् र सानै उमेरदेखि समयानुकूल हस्तक्षेप गर्नु उनीहरूलाई सक्रिय जीवनतर्फ उन्मुख गराउन न्यूनतम आवश्यकता मानिन्छ। समयमै सहयोग नपाएमा उनीहरू परिवार र समाजमै आश्रित बन्नुपर्ने अवस्था आउन सक्छ, जसले थप चुनौती सिर्जना गर्छ।
अटिजमलाई मस्तिष्कको विविध अवस्थाका रूपमा बुझिन्छ। यस फरक अवस्थालाई सही तरिकाले तालिम र मार्ग निर्देशन दिँदै उनीहरूको क्षमताअनुसार रोजगारीसम्म समावेश गराउनु आवश्यक रहेको छ। प्रत्येक व्यक्तिको जीवन मूल्यवान् भएकाले अटिजम भएका व्यक्तिको विशिष्टतालाई स्वीकार गर्नु मानवीय कर्तव्य भएकोमा जोड दिइएको छ।

अटिजम केयर नेपाल सोसाइटीको स्थापना पनि सन् २००८ मै यसै दिवसका अवसरमा भएको हो। संस्थाले राष्ट्रियस्तरमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
यस वर्ष पनि संस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम, सडक नाटक, अभिभावक तथा शिक्षकका लागि प्रशिक्षण, निलो बत्ती बाल्ने कार्यक्रम तथा ललितपुरको जावलाखेलस्थित ललित मण्डप परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अभिभावक, अटिजम भएका बालबालिका, विशेषज्ञ, प्रशिक्षक, समाजसेवी तथा सरकारी निकायका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमअन्तर्गत अटिजम भएका व्यक्तिहरूका प्रस्तुति, कला प्रदर्शन, सडक नाटक तथा विविध सिर्जनात्मक गतिविधि सञ्चालन भए। यस वर्ष विशेष रूपमा अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनीहरूको भूमिका, चुनौती र योगदानलाई उजागर गर्ने प्रयास गरिएको छ।
अटिजम जीवनभर रहने मस्तिष्कको विशेष अवस्था हो। उमेरसँगै आवश्यक सेवा र सीप पनि परिवर्तनशील हुन्छन्। अधिकांश अटिजम भएका व्यक्तिहरूलाई जीवनभर विभिन्न स्तरको सहयोग आवश्यक पर्छ। तर उचित तालिम र अवसर उपलब्ध गराइएमा उनीहरूले समाजमा महत्त्वपूर्ण योगदान दिन सक्ने क्षमता राख्छन्।
उनीहरूको विशिष्ट क्षमता र विविधतालाई पहिचान गरी स्विकार्न सकेमा सकारात्मक र समावेशी समाज निर्माण गर्न सम्भव हुने विश्वास व्यक्त गरिएको छ। अटिजमलाई चिनेर मात्र पुग्दैन, यसलाई गहिरो रूपमा बुझेर स्विकार्नु आजको आवश्यकता भएको सरोकारवालाहरूले बताएका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.