ह्यारिसबर्ग – पेनसिल्भेनियाको १०औँ कंग्रेसनल जिल्ला डेमोक्रेटिक प्राइमरीको माहोलबीच आप्रवासी समुदायका मुद्दा फेरि चर्चामा आएका छन्। यसै क्रममा नेपाली भाषी भूटानी समुदायका अगुवा रबिन गुरुङले जस्टिन डगलसप्रति आफ्नो समुदायको भरोसा सार्वजनिक गरेका छन्।
गुरुङले गत वर्षको घटनालाई सम्झिँदै भने, जब केही भूटानी शरणार्थीहरू डिपोर्टेशनको जोखिममा परेका थिए, त्यतिबेला अधिकांश नेताहरू चुपचाप बसे। तर डगलस भने खुलेर विरोधमा उत्रिएका थिए।
“त्यो समयमा हाम्रो पक्षमा बोल्ने कोही थिएनन्, जस्टिन डगलस बाहेक,” गुरुङले भने, “उहाँले ICE का कदमहरूको विरोध मात्र होइन, परिवारलाई डिटेन्सन सेन्टरसम्म साथ दिएर आफ्ना मान्छेसँग अन्तिम भेट गराउन पनि सहयोग गर्नुभयो।”

मंगलबार पेनसिल्भेनिया क्यापिटलमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न समुदायका प्रतिनिधिहरूले डगलसको समर्थनमा बोलेका थिए। कार्यक्रममा API PA का कार्यकारी निर्देशक मोहन सेशाद्री, मुस्लिम अमेरिकी समुदायकी नबिला ताहा, वन पेनसिल्भेनियाका टायलर हार्टल, CASA इन एक्शनकी मिर्ना मिरान्डा तथा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय टेरेन्स वेब सहभागी थिए।

उक्त अवसरमा डगलसले एशियन प्यासिफिक आइल्यान्डर पोलिटिकल एलायन्स (API PA), वन पेनसिल्भेनिया र CASA इन एक्शनबाट औपचारिक समर्थन प्राप्त गरेका छन्। यी संस्थाहरूले आप्रवासी र श्रमिक वर्गका मुद्दामा डगलसको स्पष्ट अडानलाई समर्थनको आधार बनाएका छन्।
डफिन काउन्टी कमिश्नरसमेत रहेका डगलस अहिले डेमोक्रेटिक उम्मेदवारका रूपमा चुनावी दौडमा छन्। मे १९ मा हुने प्राइमरीमा उनका मुख्य प्रतिस्पर्धी जेनेल स्टेल्सनसँग कडा टक्कर हुने अनुमान गरिएको छ।
यसबीच, गुरुङजस्ता आवाजहरूले चुनावी बहसभित्र आप्रवासी समुदायका वास्तविक मुद्दालाई अगाडि ल्याइरहेका छन्।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.