शेरबहादुर देउवा आफैँमा एक विशिष्ट विशेषता भएका नेपाली राजनीतिज्ञ हुन्। उनको योगदानको वर्णन नेपाली इतिहासले कसरी गर्दछ त्यो उहाँहरूकै कुरा हो। तर, आफूमा भएको त्यही विशिष्टतालाई समयमै चिन्न नसक्नु नै उनको राजनीतिक छविको क्षयको मुख्य कारण बन्यो।
मलाई नेपालको राजनीतिप्रति कुनै टिप्पणी गर्नु छैन, न त देउवाको घरमा कति पैसा जल्यो वा जलेन भन्ने विषयमा नै केही भन्नु छ। तर, उनी र उनको परिवारले नेपालमा रहेका भुटानी शरणार्थीका नाममा कमाएको भनिएको अकूत सम्पत्ति र त्यसले ती गरिब शरणार्थीहरूको भविष्यमा सिर्जना गरेको अवरोधप्रति गम्भीर चासो र चिन्ता छ। यस विषयमा उनीमाथि निष्पक्ष र कठोर छानबिन हुनु आवश्यक देखिन्छ।
तत्कालीन अवस्थामा शेरबहादुर देउवा गृहमन्त्री रहेको कार्यकालमा नेपाल–भूटानबीच भएको शरणार्थीसम्बन्धी द्विपक्षीय वार्ताका क्रममा, सोझा–सिधा शरणार्थीहरूको वास्तविक समस्या नबुझी, शरणार्थीहरूका जिज्ञासा नसुनी उनीहरूलाई चार वर्गमा विभाजन गर्ने निर्णय अत्यन्तै निन्दनीय थियो।
भूटानले तयार परेको एकतर्फी दस्ताबेजमा निसंकोच हस्ताक्षर गर्नु शरणार्थीका नाममा गरिएको इतिहासकै एक कालो धब्बा थियो। सोही सन्दर्भमा, उनले भुटानबाट ‘राष्ट्रिय उपहार’ स्वरूप सुनको खुकुरी प्राप्त गरेको कुरा थिम्पुबाटै बाहिर आएको थियो।
शरणार्थी मामिलालाई आफ्नो पक्षमा पार्न सफल भएको खुसीयालीमा भुटानले हजारौँ घ्यूका दियो (घृतदीप) बालेर उत्सव मनाएको चर्चा पनि चलेको थियो। सुनको खुकुरीसँगै ठूलो रकम लेनदेन भएको हल्ला चले पनि त्यसबेला यस्ता विषयमा छानबिन गर्ने निकाय मौन रहँदा शरणार्थीहरूको आवाज सुन्ने कोही भएन।
पछि आएर देउवा प्रधानमन्त्री भए। उनी प्रधानमन्त्री हुँदा शरणार्थी मामिलाबारे चासो राख्न जाने शरणार्थी प्रतिनिधिहरूलाई तिब्बती शरणार्थीको समस्याको हवला दिँदै हप्काएर पठाउने गरेको घटनाले उनी भूटानी शरणार्थीको पक्षमा थिए कि भुटानको भन्ने गम्भीर प्रश्न उठ्थ्यो। तर, त्यसबेला उनी विरुद्ध बोल्ने वा यथार्थ खोज्ने हिम्मत कसैले गरेन। त्यो, तत्कालीन अवस्थामा सम्भव पनि थिएन।
पछिल्लो समय भूटानकै रणनीतिक सङ्केतमा नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा आरजु देउवाको नाम जोडिनु केवल संयोग मात्र हुन सक्दैन। यस प्रकरणमा आरजु देउवाले ठूलो धनराशि लिएको आरोप पनि लाग्दै आएको छ।
भूटानका उच्च पदस्थ व्यक्तिहरूले देउवा परिवारसँग पटक–पटक भेटघाट गर्ने गरेको कुराले यस शङ्कालाई थप बल पुर्याउँछ।
यी सम्पूर्ण घटनाक्रमले देउवा परिवार भूटानी शरणार्थीहरूका लागि न्यायको बाधक र पीडाको स्रोत बनेको आभास हुन्छ। यदि यो प्रकरणमा निष्पक्ष छानबिन र उचित कानुनी कारबाही हुन सकेमा मात्र पीडित शरणार्थीहरूले न्याय पाउने अपेक्षा गर्न सकिन्छ।
आज पनि झापा र मोरुङ जिल्लामा रहेका शरणार्थी शिविरमा ६५०० भन्दा बढी शरणार्थीहरू देउवा परिवारकै कारण पिडादायीक जीवन जिउन विवश छन्।
हाल नेपालमा सक्षम सरकार छ र यस सरकारले भूटानी शरणार्थीहरूलाई ३६ वर्ष पछि भए पनि न्याय दिन्छ भन्ने आशा आम शरणार्थीले गरेका छन्।
(अमेरिका निवासी रूपनारायण पोखरेल भुटानका प्रसिद्ध कवि एवं पत्रकार हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.