"/>

विदेश पलायन रोक्न सरकार केन्द्रित हुने राष्ट्रपतिको विश्वास

विदेश पलायन रोक्न सरकार केन्द्रित हुने राष्ट्रपतिको विश्वास

100
SHARES

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागिता र राष्ट्रिय एकतामार्फत समृद्ध नेपाल निर्माणका लागि सबै पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।

भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा गौरवको अनुभूति भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले पटक–पटक गरेका ऐतिहासिक आन्दोलन, सङ्घर्ष तथा पछिल्लो पटकको जेनजी आन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेतृत्व गर्ने अग्रजहरूप्रति उनले उच्च सम्मान प्रकट गरे।

सुशासनको प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताको आन्दोलनपश्चात् मुलुकमा उत्पन्न जटिल परिस्थितिको निकास स्वरूप सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरी छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरिएको स्मरण गर्दै उनले फागुन २१ गते स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भई ताजा जनादेश अनुसार सरकार गठन भइसकेको बताए।

उनले निर्वाचनमा सहभागी सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे।

अन्तरिम सरकारको मुख्य जिम्मेवारी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले राज्य संयन्त्रलाई लयमा ल्याई भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहमा सुधार गर्दै संवैधानिक र लोकतान्त्रिक अधिकारको संरक्षणका लागि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे। साथै, निर्वाचन सफल बनाउन भूमिका खेल्ने तत्कालीन सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल तथा सम्पूर्ण मतदाताप्रति उनले आभार प्रकट गरे।

देशको विषम र संवेदनशील अवस्थामा राजनीतिक दल, युवा अभियन्ता, संवैधानिक अङ्ग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्पूर्ण राज्य संयन्त्रले निर्वाह गरेको भूमिका र नेपाली जनताले देखाएको संयमताप्रति पनि उनले धन्यवाद ज्ञापन गरे।

निर्वाचनमार्फत संसदीय इतिहासमै अभूतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्वसहित प्रतिनिधिसभा गठन भएको उनले उल्लेख गरे। यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति युवाको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, विधिको शासन, रोजगारीका अवसर, दण्डहीनताको अन्त्य, सामाजिक न्याय, तीव्र आर्थिक–सामाजिक विकास, शान्ति र स्थायित्वको आकाङ्क्षा राखेको उल्लेख गरे।

जनताको यी चाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित र जनकल्याणकारी कानुन निर्माण गर्नुपर्ने तथा तिनको प्रभावकारी कार्यान्वयन सरकारले सुनिश्चित गर्ने विश्वास उनले व्यक्त गरे। न्यायपालिकाबाट छिटो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सके मात्र शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने उनको भनाइ थियो।

संविधान कार्यान्वयनको दस वर्षको अभ्यास महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू संस्थागत भए पनि संविधानको मर्मअनुसार गर्नुपर्ने काम अझै बाँकी रहेको बताए। आजका युवाको अपेक्षा नयाँ भएको उल्लेख गर्दै रोजगारीका नयाँ अवसर सिर्जना, बजारको मागअनुसार जनशक्ति उत्पादन तथा शैक्षिक प्रणालीमा सुधार गरी विदेश पलायन रोक्न सरकार केन्द्रित हुने उनले विश्वास व्यक्त गरे।

श्रमको सम्मान गर्ने संस्कृतिको विकास र श्रमको उचित प्रतिफल सुनिश्चित गर्दै “देशमा काम गरेर केही हुँदैन” भन्ने धारणामा परिवर्तन ल्याउन ढिला नगर्ने उनले बताए। युवा तथा शिक्षित बेरोजगारमा देखिएको निराशा अन्त्य गर्न सरकारले विशेष ध्यान दिने उनको विश्वास छ।

राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त बनाउनुपर्नेमा जोड दिँदै नागरिकले घरदैलोमै सरकार भएको अनुभूति गर्न सक्ने व्यवस्था मिलाइने विश्वास व्यक्त गरे। विश्वपरिवेशमा देखिएको द्वन्द्व र अस्थिरताको सन्दर्भमा राष्ट्रिय हितलाई केन्द्रमा राखी छिमेकी तथा मित्र राष्ट्रहरूसँग सन्तुलित, विश्वसनीय र पारस्परिक सम्मानमा आधारित कूटनीतिक सम्बन्ध अघि बढाउनुपर्ने आवश्यकता उनले औँल्याए।

जलवायु परिवर्तनबाट परेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जलवायु न्यायको पक्षमा विश्व समुदायसँग उचित पहल गरिने उनले बताए। लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकता र आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास र समृद्धिको यात्रामा सम्पूर्ण नेपाली जनता, जनप्रतिनिधि, राजनीतिक दल तथा राज्य संयन्त्रलाई एकजुट भई अघि बढ्न आह्वान गरे। साथै, सार्वभौम संसदमार्फत नेपाली जनताको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्धिको चाहना मुखरित हुने विश्वास व्यक्त गरे।

समाचार शेयर गर्नुहोस्
100
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.