काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा २६ वर्षकी रुवी कुमारी ठाकुर निर्वाचित भएकी छन्। २५६ सांसद उपस्थित प्रतिनिधिसभा बैठकमा २२९ मत पाएर रुवी उपसभामुखमा निर्वाचित भएकी हुन्।
रुवीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाहेकका सांसदले मत दिए भने २२ सांसदले पक्ष र विपक्ष कतै मत दिएनन्। रुवी निर्वाचित भएसँगै श्रम संस्कृति पार्टीले संसदमा उपसभामुख पद पाएको छ।
जेनजी आन्दोलनपछि फागुन २१ मा सम्पन्न चुनावी नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ भने पहिलो पटक निर्वाचनमा सहभागी भएको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनेको छ।
रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीले उपसभामुख पद पाएको हो। श्रम संस्कृति पार्टीलाई रास्वपा, कांग्रेस, एमाले र नेकपाले पनि समर्थन जनाए।
५ सांसद रहेको राप्रपाले पनि उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाएको थियो। तर, राप्रपाले कुनै पनि दलको समर्थन प्राप्त गर्न सकेन र संसदमा एक्लै पर्यो। गणतान्त्रिक व्यवस्थाको विकल्पका रूपमा राजसंस्थाको नारा घन्काइरहेको राप्रपाले रास्वपाबाट समर्थन पाउने आश्वासनपछि उम्मेदवार दिएको खुलाएको छ।
राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सभापति रवि लामिछानेको आश्वासनपछि उम्मेदवार अघि सारेको बताए। उनले राजनीतिमा आश्वासन र धोका पनि जायज हुँदो रहेछ भन्ने कुरा लामिछानेबाट बुझ्न पाएको सुनाए। “संसदमा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ। एक थान उपसभामुख पद प्राथमिकता थिएन,” उनले भने, “राजनीतिमा स्पष्ट कित्ता क्लियर भएको छ।”
संविधानले व्यवस्था गरेको समावेशी समानता कहाँ छ? समानता कहिले आउँछ? भन्दै उनले प्रश्न गरे। आफूहरूले धोका पाएको उनले सुनाए। उनले गणतन्त्रलाई विदेशबाट आयातित व्यवस्थाको संज्ञा दिए र राष्ट्रवादी शक्तिले आयातित व्यवस्थाको धड्कन बन्द गरिदिन्छ भन्ने डरका कारण राप्रपालाई एक्ल्याइएको टिप्पणी गरे।
“राजनीतिमा आश्वासन र धोका पनि जायज हुँदो रहेछ,” उनले भने, “बोलीभन्दा बढी सङ्केत बुझ्नु पर्ने रहेछ।” संख्यामा कम भए पनि विचारमा बलिया रहेको उल्लेख गर्दै उनले राजनीति सिकिएको बताए। “याद रहोस्, नदी पनि एउटै वेगमा बगिरहँदैन। माओवादीले पनि पतन गर्न नसकेको शक्ति हो,” उनले भने।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.