लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारका लागि हर्क साम्पाङ सकारात्मक

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अधिकारका लागि हर्क साम्पाङ सकारात्मक

236
SHARES

काठमाडौं – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका जेनजी प्रतिनिधि बाबु दुमि राईले समुदायको राजनीतिक अधिकार सुनिश्चित गर्न तथा दलहरूसँग समन्वय र सहकार्य विस्तार गर्न हात अगाडि सारेका छन्। समावेशी, समानता र प्रतिनिधित्वको मुद्दालाई संस्थागत बनाउन राईले विभिन्न राजनीतिक दलहरूसँग निरन्तर संवाद अघि बढाएका छन्।

राईले श्रम संस्कृति पार्टीसँग निरन्तर छलफल जारी राखेका छन्। राईले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईलाई भेटेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको पहिचान सहितको वकालत गरेका छन्। भेटघाटले समुदायको राजनीतिक सहभागिता, नीति निर्माणमा प्रतिनिधित्व, र समान अधिकार सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण सन्देश दिएको छ।

जेनजी युवा अधिकारकर्मी एवं ‘मायाको पहिचान नेपाल’ का प्रदेश समन्वय अधिकारी राईले समावेशी, समानता, राष्ट्र अनि राष्ट्रियताको निमित्त युवाहरूको सहभागिताका लागि छलफल गरे।

उनले युवाको राजनीतिक सहभागिता र नेतृत्व विकास समयको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै, “यो जोस अनि जागरले पक्कै मुलुकलाई अर्थपूर्ण दिशा दिनमा ठूलो टेवा पुर्‍याउँछ” भन्ने कुरामा विश्वास व्यक्त गरे।

राईले युवाभित्रको विविधतालाई समेत समेटिनु पर्ने आवश्यकता औँल्याउँदै युवाको आवाज एकमुष्ट रहनुपर्नेमा जोड दिए। श्रम संस्कृति पार्टीका युवा केन्द्रीय अध्यक्ष दिवस राईसहित हर्क साम्पाङ राईसँग भएको भेटको तस्बिर राखेर राईले लेखेका छन्,“उहाँको लागि सायद म नै अनौठो अनि नयाँ पाठ्यक्रम अवश्य हुन सक्छ, तर पूर्णरूपमा उहाँले यसलाई हार्दिकताका साथ लिनु भएको छ, जसले म हामी जस्ता अनेकौँ लाखौँ विविधता विशेषता बोकेका युवाहरू अझ बढी सक्रिय, एकमुष्ट, एक ढिक्का भई अर्थपूर्ण परिवर्तन ल्याउनेछ।”

अध्यक्ष हर्क साम्पाङले पनि स्पष्ट रूपमा नहिचकिचाई यस समुदायप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। “सबै चिजको राम्रो जानकार नहुन सक्छु, तर हामी यसलाई अवश्य सम्बोधन गर्नेछौँ,” साम्पाङले भने, “हामी सहकार्य र भविष्यमा सँगै काम गर्न तयार छौँ।”

समुदायका धेरै व्यक्तिहरू पनि आफ्नो आवाज अभियानमा जोडिएर यस पहललाई सफल पार्न उत्साहित भएको बाबु दुमि राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। यस पहललाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको राजनीतिक अधिकार, प्रतिनिधित्व र नीतिगत पहुँच विस्तार गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

समाचार शेयर गर्नुहोस्
236
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.