काठमाडौं – घरजग्गा क्षेत्रबाट सरकारी राजश्वमा पुनः सुधार देखिएको छ। आर्थिक मन्दी र तरलता अभावका कारण केही वर्ष प्रभावित बनेको रियल-स्टेट क्षेत्र पछिल्लो अवधिमा क्रमशः पुनरुत्थानको सङ्केत देखाउँदै गएको छ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रयमासमा २३.७ अर्ब रुपैयाँसम्म पुगेको घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजश्व आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा घटेर ८.२ अर्ब रुपैयाँमा झरेको थियो।
तर, पछिल्लो समय पुनः सुधार भई आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रयमासमा १५ अर्ब रुपैयाँसम्म पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ।
नेपाल राष्ट्र बैङ्कले रियल-स्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी तथ्याङ्क प्रकाशन गरेको हो। तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशतले वृद्धि भएको छ भने आवासीय कर्जा ६१.५५ प्रतिशतले बढेको छ। यसले घरजग्गा क्षेत्रमा लगानीकर्ताको विश्वास पुनः मजबुत बन्दै गएको र बैङ्किङ प्रणालीबाट प्रवाहित कर्जा विस्तारले बजारलाई चलायमान बनाएको देखिएको छ।
जग्गा कारोबारको क्षेत्रफलका आधारमा मधेश प्रदेश बाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार हुने गरेको राष्ट्र बैङ्कले जनाएको छ।
महानगर तथा उपमहानगरपालिकामा पनि ५ देखि १० आना क्षेत्रफलका प्लटहरूको कारोबार उच्च देखिएको छ, जसले शहरीकरणको तीव्रता र आवासीय प्रयोजनका लागि साना तथा मध्यम आकारका घडेरीप्रति माग बढ्दो रहेको सङ्केत गरेको छ।
यसको विपरीत, मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका ठूला प्लटहरूमा बढी कारोबार देखिएको छ, जसले कृषि प्रयोजन, व्यावसायिक विस्तार तथा पारिवारिक संयुक्त स्वामित्वको परम्परालाई प्रतिबिम्बित गर्दछ। घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ, जसले काठमाडौं उपत्यकासहितका शहरी क्षेत्रहरूमा जग्गाको मूल्य उच्च रहेको देखाएको छ।
नेपाल राष्ट्र बैङ्कले घरजग्गा कारोबारमा स्पष्ट मौसमी प्रवृत्ति देखिएको उल्लेख गरेको छ। तथ्याङ्क अनुसार पहिलो त्रयमासमा कारोबार न्यून रहने र तेस्रो तथा चौथो त्रयमासमा रियल स्टेट कारोबार उच्च हुने गरेको छ।
चाडपर्व, आर्थिक वर्षको अन्त्य तथा लगानीको चक्रसँग सम्बन्धित यी मौसमी कारकहरूले बजारको गतिविधिलाई प्रभाव पार्ने गरेको राष्ट्र बैङ्कको विश्लेषण छ।
राजश्व सङ्कलनमा सुधार, कर्जा प्रवाहमा वृद्धि र प्रदेशगत कारोबार प्रवृत्तिले नेपालको घरजग्गा तथा रियल स्टेट क्षेत्र क्रमशः पुनर्जीवित हुँदै गएको स्पष्ट सङ्केत गरेको छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.