निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक अल्पसंख्यक माथि मानवअधिकार उल्लघंन, “आयोग उजुरी लिन्छ, सुनुवाई गर्दैन”

यौनिक अल्पसंख्यक माथि मानवअधिकार उल्लघंन, “आयोग उजुरी लिन्छ, सुनुवाई गर्दैन”

607
SHARES

काठमाडौं (पहिचान) मंसिर ११ – राष्ट्रिय मानवअधिकार आयोगले अब बन्ने कानुन मानवअधिकार मैत्री बन्नु पर्नेमा जोड दिएको छ । नील हिरा समाजको आयोजनामा आयोगसँग भएको समन्वयकारी बैठकमा आयोगले मानवअधिकार मैत्री कानुन बन्नु पर्नेमा जोड दिएको हो । आयोगकी सदस्य मोहना अन्सारीले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार संबिधानमा सुनिश्चित भएको भन्दै अब बन्ने कानुनमा पनि सुनिश्चित हुनु पर्ने वताइन् ।

कोही पनि मानवलाई लिंगको आधारमा फरक गरिनु हुँदैन अन्सारीले भनिन्, समलिंगी तेस्रोलिंगीको पहिचान संबिधानमा सुनिश्चित भएको छ, कानुनमा पनि सुनिश्चित हुनुपर्छ भनेर आयोगले बिशेष महत्वका साथ हेरिरहेको छ । उनले आबश्यकता अनुसार काम गरिरहेको वताउँदै आफुलाई चिनाउने कामलाई निरन्तरता दिन समलिंगी तेस्रोलिंगीलाई सुझाव दिइन । पहिलो संबिधान सभामा यो समूदायको प्रतिनिधित्व भएपनि दोश्रोमा शुन्य भयो अन्सारीले प्रश्न गरिन्, संबिधानबाट यौनिक अभिमुखिकरण किन हटाएको ? उनले आफ्नो अधिकारका लागि अनवरत काम गर्न समूदायका सदस्यलाई सुझाव दिइन ।Mohana

आयोगका सचिव वेदप्रसाद भट्टराईले अल्पसंख्यकका अधिकार सुनिश्चित गर्न झझकाएकै कारण केही सुधार भएको वताए । आयोगको रणनीतिक योजनामा यौनिक तथा लैंगिक अल्पसंख्यक शब्द पूर्वाग्रह या नियत बस हटाएको पाइए त्यस्तो व्यक्तिलाई सम्झाउने सचिव भट्टराईले वताए । समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीलाई विभेद गर्नु, गैरकानुनी थुनामा राख्नु र यातना दिनु मानवअधिकार विरुद्धको काम हो भनेर सचेतना बढाउन आबश्यक रहेको उनको भनाई छ । उनले आयोगले परिक्षण अवधीका लागि लिइने कर्मचारी मध्ये तेस्रोलिंगीलाई बिगतमा पनि लिने गरिएको र अब पनि यसलाई आयोगले निरन्तरता दिने वताए ।Aayog 1

अयोगका सम्पर्क व्यक्ति अधिवक्ता बासुदेव बजगाईले विभेद, दुरव्यवहार र हिंसा भएको सुनिए पनि आयोगमा उजुरी नआएको वताए । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले संबिधानमा लेखिएको अधिकार कार्यान्वयन गर्न आयोगको प्रभावकारी भूमिका रहनेमा आशावादी रहेको वताइन् । नागरिकता र पासपोर्ट पहिचान अनुसार अन्य उल्लेख गरेर दिदैमा राज्यको दायित्व सकिदैन ढकालले भनिन् विभिन्न कार्यक्रम संचालन गरेर समूदायका सदस्यलाई आर्थिक रुपले पनि सवल बनाउनु पर्छ ।

उनले समलिंगी विवाह बारेको प्रतिवेदन महिला मन्त्रालयको टेवलमा थन्किनु सर्वोच्चले २०६४ पुष ६ गते सरकारलाई दिएको निर्देशनात्मक आदेशको उपहास भएको वताइन् । उनले महिला पुरुष सरह आफ्नो समूदायलाई पनि माया गर्ने व्यक्तिसँग विवाह गरेर बस्ने इच्छा भएको बताउँदै भनिन्, तत्काल प्रतिवेदन कानुन मन्त्रालयमा पठाउन आयोगले पहल गरिदियोस । तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले आफू जस्ता व्यक्तिलाई विनाकारण बाटोमा हिड्दा प्रहरीले कुटपिट गर्ने, लगेर थुन्ने र यातना दिने गरेको वताइन् ।

अर्का तेस्रोलिंगी अधिकारकर्मी भक्ती शाहले सन् २०१५ मा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका ३६ जना माथि विभिन्न किसिमका हिंसा भएको वताए । मकवानपुरमा अजिता भुलेज, काठमाडौंमा मुस्कान केसी सहित ३६ वटा मानवअधिकार उल्लघनका घटना भएका छन् शाहले भने, आयोगले उजुरी त लिन्छ तर सुनुवाई हुँदैन । सुनुवाई नहुने भए किन उजुरी दिनु समूदायका सदस्यले आफूलाई प्रश्न गरेको सुनाउँदै शाहले भने, उजुरी परेपछि तत्काल छिनोफानो गरिदिनुपर्छ ।

समाजका कानुनी सल्लाहकार एवं अधिवक्ता प्रेम बहादुर थापाले संबिधानमा लेखिएका अधिकार कार्यान्वयन गराउन मानवअधिकार आयोगको अहंम भूमिका रहने वताए । तर आयोगले आफ्नै रणनीतिक योजनाबाट यौनिक तथा लैगिंक अल्पसंख्यक शब्द हटाएछ थापाले भने, के कति कारणले हटाइएको हो, यहाहरुले हेरिदिनुहोला ।

तेस्रोलिंगी अनुसा लामाले आफू तेस्रोलिंगी भएकै कारण उच्च शिक्षा अध्ययन गर्न नपाएको वताइन । पढ्न पाइएन, घर परिवारले निकालिदिए लामाले भनिन्, गाँस, बास र कपासका लागि यौन पेशा अपनाउन बाध्य छु । प्रहरीले आफूहरु माथि गर्ने दुरव्यवहार विरुद्ध आयोगमा उजुरी दिएपनि आयोगले सुनुवाई नगरेको लामाले गुनासो गरिन् ।

समाचार शेयर गर्नुहोस्
607
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.