समलिंगी तेस्रोलिंगीको बिषय समावेश गराउन सकिन्छ : साहित्याकार न्यौपाने

समलिंगी तेस्रोलिंगीको बिषय समावेश गराउन सकिन्छ : साहित्याकार न्यौपाने

काठमाडौं (पहिचान) माघ १४ – साहित्यकार अमर न्यौपानेले समलिंगी तेस्रोलिंगीबारे लेखकहरुलाई बिस्तृत ज्ञान नभएका कारण उनीहरुको विषयले कृतिमा अपेक्षित प्रवेश नपाएको बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा न्यौपानले भने,“विपरितलिंगी सरह यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा जानकारी लेखकमा भएको भए समलिंगी तेस्रोलिंगीका विषय पनि धेरै समेटिने थिए ।”
यस विषयमा जानकारी भएका साहित्यकाहरुले समलिंगी तेस्रोलिंगीलाई साहित्यमा समावेश गरेको उनले बताए । “मोहनराज शर्माको सलिजु पनि समलिंगी जोडिको कथामा आधारित कृति हो,” न्यौपानेले भने, “परशु प्रदानले पनि समलिंगी तेस्रोलिंगीका विषयमा कथा लेख्नु भएको छ ।”
साहित्यकारहरुले जति धेरै यस विषयमा जानकारी पाउदै जान्छन् त्यति नै यस्ता पात्रहरु उनीहरुले आफ्नो साहित्यमा समेट्ने उनको भनाई छ । उनले भने, “सामान्य जानकारी मात्रै भएर पुग्दैन । त्यो कुरा साहित्यकारले अनुभुत पनि गर्न सक्नु पर्छ । अनि मात्र त्यसलाई जीवन्त रुपमा प्रस्तुत गर्न सकिन्छ, सतही ज्ञान भएर मात्र पुग्दैन ।”
उनले आफुले पनि यो विषयलाई आफ्नो कृतिमा समावेश गर्नेबारे सोचेको बताए । “मलाई पनि यो विषयलाई आफ्नो कृतिमा उल्लेख गर्नु पर्छ भन्ने सोचाई आएको हो, यस विषयमा लेख्न पर्याप्त जानकारी चाहियो । तर, मलाई त्यती धेरै ज्ञान भएन,” उनले भने “म सतहमा भन्दा पनि रियल पात्रहरुसँग बसेर उनीहरुभित्र आफै पसेर जानकारी लिने र साहित्य सिर्जना गर्ने भएकाले कुनै समय त्यो अबसर पाए म आफ्नो साहित्य सिर्जनामा समावेश गर्न सक्छु ।”
साहित्यकार अमर न्यौपाने मदन पुरष्कार विजेता उपन्यास सेतो धर्तीका लेखक हुन् भने करोडौं कस्तुरी र पानीको घाम पनि उनका उपन्यास हुन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.