प्रेरणा बिष्ट/पहिचान -मेरो जन्म २०४० साल माघ महिनाको १० गते दाङ्गको घोराही नगरपालिकामा बाबा उत्तर कुमार विष्ट र माता बालिका विष्टको कोखबाट बालकको रुपमा भएको हो । म सानै देखि अलि फरक स्वभाबको थिए । र, अरु भन्दा अलि तिक्ष्ण पनि थिए । ९/१० बर्ष पुगे पछि नै मलाई अरु भन्दा छुट्टै महसुस हुन थालेको थियो । मेरो आनिबानि चलन स्वभाव, हिडाई, बोलाई सबै केटीको जस्तो थियो ।
मैले आफुभित्र महिला चरित्र महशुस गर्न थालेको थिएं । त्यतिबेला देखि नै म समाज साथिभाई अनि शिक्षकको बिभेद र लाञ्छनाको सिकार भएको थिंए । जबकि त्यो समय मलाई नै थाहा थिएन त्यो बिभेद र लाल्छना हो । अनि ब्यक्तिगत स्वतन्त्रता माथिको हस्तक्षेप थियो भन्ने पनि ।
साथिहरु मलाई अनेकौं उपनाम दिने गर्थे । कसैले छक्का र हिजडा भनेर जिस्काउथे । छक्का भनेको के हो म आफैलाई थाहा थिएन । तर छक्का, हिजडाको अर्थ नबुझे पनि मलाई एकदमै पीडा बोध हुन्थ्यो । बिद्यालयमा मेरा केटा साथी भन्दा पनि केटी साथी नै धेरै थिए । जसले गर्दा केटाहरुले मलाई बिभिन्न शंका गर्ने गर्थे । म छुट्टि भएपछि कि भने सबैभन्दा अगाडि घर जान्थे कि सबै जना घर फर्किसकेपछि अन्तिममा फर्कने गर्थें । ताकि मलाई बाटोमा कसैले छक्का नभनोस् ।
५ कक्ष्ाँमा पढ्दै गर्दा एक दिन म स्कुल जादै थिए । मेरो घरबाट स्कुल जानका लागि ३० मिनेट हिड्नुपथ्र्याे । त्यतिबेला हाम्रो वार्षिक परिक्षा चलिरहेको थियो । बाटोमा मलाई सधैं जिस्काइरहने एक जना केटा भेट भयो । त्यो दिन पनि उसले मलाई जिस्कायो । उ मलाई जिस्काएर पुरानो कक्षा भित्र पस्यो । मलाइ साह्रै पीडा भयो । म रुन थाले । मैले रुदै ढुंगा बर्षाउदा उसको टाउकोमा लागेछ । उसलाई ठूलै चोट लागेछ । उसको टाउको बाट धेरै रगत बग्यो । अनि साँझ र्फकदा उसका आफन्तहरुले मेरो बाटो कुरेर बसेका थिए । अनि मलाई त्यहा भेला भएका सबैले मेरो आमा बाबालाइ पनि बोलाए । बाबा आमा पनि आउनुभयो । उहाँहरुलाइ देखेर म धेरै रोए । आमाले झनै गालि गर्नुभयो ।
जब म कक्षा ८ पास गरेर गाउको स्कुल देखि टाढा अर्को स्कुलमा ९ कक्षा पढ्नका लागि भर्ना भए । त्यहाँ म माथि झनै धेरै बिभेद भयो । स्कुलको प्रिन्सिपलले मेरो बाबालाई बोलाएर मलाई स्कुल निकाला गर्ने कुरा गर्नुभयो । मैले त्यो दिन आत्महत्याको प्रयास गरें । एक जना म संगै पढ्ने विवेक अधिकारी साथिले बचाए । आफैलाई थाहा थिएन म कस्तो प्रकृतिको ब्यक्ति हुँ भनेर । खालि मेरो मन मस्तिष्क महिलाको थियो भने शरिर पुरुषको । म एसएलसीमा प्रथम श्रेणिमा उर्तिण भए । त्यसपछि अध्ययनका लागि दाङ्ग सदरमुकाम गए । क्याम्पसमा झनै विभेद हुन थाल्यो । क्याम्पस पढ्दा विभेद सहन नसकेर मैले क्याम्पस विचमै छोडे । बाबाले पढ्न छोडेको थाहा पाएर मलाइ घरमा जान दिनु भएन । म दाङमै जागिर खोजेर काम गर्न थाले । जब मेरो उमेर पनि बढ्दै गयो म भित्र पनि यौनका अनुभुतिहरु सुरु हुन थाले । तर समान लिगं प्रति । म आफै अचम्ममा पर्थे । गहिरिएर सोच्थे । के भएको होला ? तर उत्तर कहिल्यै पाउन सकिन ।
एक दिन म डेरा गरी बसेको घरमा नया मान्छे आए भाडामा बस्न । उनीहरु मलाई खुबै नियालेर हेर्थे । मलाई देख्नासाथ आखाको इसारामा कुरा गर्थे । एकदिन उनीहरुले मलाई आफ्नो कोठामा चियाका लागि बोलाए । म गए । बिस्तारै थाहा भयो उनीहरु पनि म जस्तै प्रकृतिका मानिस रहेछन् । उनीहरु नील हिरा समाज दाङका कर्मचारी रहेछन् । बिस्तारै बिस्तारै मैले उनीहरुको संगतबाट समलिंगी र तेस्रोलिंगी समुदायको बारेमा जानकारी पाउन थाले । अनि उनीहरुले मलाई आफ्नो कार्यालयमा लगेर आधारभुत तालिममा पनि सहभागि गराए । नील हिरा समाज दाङमा गएपछि मलाई आफ्नै संसार पाएजस्तो भयो । म एकदमै खुशि भए । मैले आफुजस्ता थुप्रै मान्छेलाई भेटेकी थिए । अनि मैले यौनिकता, लैंगिकता र अधिकारको बारेमा पनि बुझ्ने मौका पाए । बिस्तारै ममा आत्मबिश्वास बढेर आयो । र आफुले जुन खालको पीडा सहेको थिए त्यसलाई कम गर्न लाग्नु पर्छ भन्ने सोचाई मनमा पलायो । अनि म स्वतन्त्रताका साथ पुर्ण रुपमा महिला बनेर हिड्न थाले ।
म मा नया उर्जा थियो । जागर थियो । जोश थियो अनि नया भुमिका थियो । त्यसपछि झनै मैले आफनो जीवनमा धेरै दुःख पाए । साथीहरुले मेरो बारेमा जब थाहा पाए बोल्नै छोडे । सगै डेरा गरेर बस्ने गाउको अंकलको छोरीको ब्यबहारमा एकाएक परिवर्तन आयो । तर, पनि मैले हिम्मत हारिन । म दाङबाट कपिलवस्तु बाबाले नदेखुन भनेर काम गर्न गए । र कपिलवस्तुमा एउटा होटलमा काम गर्न सुरु गरे । होटलमा काम गरेको केही महिना पछि खुसिको कुरा मैले पनि नील हिरा समाज कपिलवस्तुमा काम गर्ने मौका पाए । बिस्तारै म मिडियामा आउन थाले । अनि धेरै जनाले थाहा पाए । गाउमा मलाई सबैले नराम्रो तरिकाले हेर्थे । त्यसपछि मैले गाउ जान छोडिदिए । बर्षमा एकपटक दशैमा मात्र जान्थे । म नेपाली लोक संगितमा पनि लागे । फाट्नु पर्ने बादालु चमसुरी जस्ता लोक गीतहरुमा शब्द लेख्ने काम गरें भने कतिपय गीतमा आफ्नै स्वर समेत दिए । तर, म तेस्रोलिंगी भएकै कारण अगाडी आउन सकिन ।
अनेक पीडा र संर्घषका बावजुद म कपिलवस्तु नील हिरा समाजको कार्यलयमा कार्यलय प्रमुखको रुपमा काम गर्न थाले ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.