अमेरिका–इरान युद्ध पिक पार, ओरालो लागेको परराष्ट्रको विश्लेषण

अमेरिका–इरान युद्ध पिक पार, ओरालो लागेको परराष्ट्रको विश्लेषण

328
SHARES

काठमाडौँ – मध्यपूर्वमा बढ्दो तनावका क्रममा भएको आक्रमणमा संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका १५ जना नेपाली नागरिक घाइते भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार घाइतेमध्ये १४ जना उपचारपछि काममा फर्किसकेका छन्।

मन्त्रालयका सहसचिव रामजी खड्काका अनुसार इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर युएईमा रहेका गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको छ। उक्त आक्रमणमा घाइते भएका अन्यमध्ये एक जना भने अझै उपचाररत रहेका छन्।

मध्यपूर्व क्षेत्रमा पछिल्ला दिनहरूमा अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण मिसाइल तथा ड्रोन आक्रमणका घटना भएका छन्। विशेषगरी अमेरिकी सैन्य कारबाहीपछि इरानले विभिन्न स्थानतर्फ मिसाइल तथा ड्रोन प्रहार गरेपछि क्षेत्रीय सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। यसैक्रममा युएईमा रहेका श्रमिक तथा ट्रान्जिटमा रहेका विदेशी नागरिकसमेत प्रभावित भएका छन्, जसमा नेपाली नागरिक पनि परेका हुन्।

मध्यपूर्वमा अलपत्र परेका नेपाली नागरिकको उद्धारमा कुनै कमी नहुने दाबी सरकारले गरेको छ। अमेरिकाले इरानमाथि गरेको आक्रमणपछि सिर्जित परिस्थितिमा मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई आवश्यक परे जसरी पनि उद्धार गरिने परराष्ट्रमन्त्री बालानन्द शर्माले बताए।

युद्धको बाछिटा भोगिरहेका मध्यपूर्वका विभिन्न देशमा रहेका नेपालीमध्ये विशेषगरी ट्रान्जिटमा रहेका नागरिक बढी समस्यामा परेको मन्त्री शर्माको भनाइ छ। बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मध्यपूर्व क्षेत्रमा करिब २० लाख नेपाली नागरिक रहेको र आवश्यक परे उनीहरूको सुरक्षाका लागि सरकारले उद्धारको तयारी गर्नुपर्ने बताए।

नेपाल सरकारको विश्लेषण अनुसार अमेरिका र इरानबीचको युद्ध अहिले चरम बिन्दु (पिक) पार गरेर क्रमशः ओरालो लाग्ने सङ्केत देखिएको छ। परराष्ट्रमन्त्री शर्माले युद्ध चरम अवस्थासम्म पुगेपछि अब तनाव क्रमशः कम हुने दिशातर्फ जाने सरकारको प्रारम्भिक विश्लेषण रहेको बताए।

समाचार शेयर गर्नुहोस्
328
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.