गगनलाई घेराबन्दी गर्न इनमको अडियो, देउवालाई मसला

गगनलाई घेराबन्दी गर्न इनमको अडियो, देउवालाई मसला

44
SHARES

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह आफूमाथि उठेका प्रश्न र आरोपलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापातिर मोड्न सफल भएको टिप्पणी हुन थालेको छ। प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटाको नाम जोडेर सार्वजनिक गरिएको विवादास्पद अडियोले प्रधानमन्त्रीमाथि उठेका प्रश्नलाई ओझेलमा पार्दै कांग्रेस सभापति थापामाथि आरोपको दबाब बढाएको देखिएको हो।

इनम सापकोटाको भनिएको बयानको अडियो सार्वजनिक भएपछि कांग्रेसको आन्तरिक विवादसमेत चर्किएको छ। अडियोमा कांग्रेसको आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा १८ करोड रुपैयाँको आर्थिक लेनदेन भएको दाबी गरिएको छ। तर, उक्त अडियो सापकोटाकै आधिकारिक बयान हो वा होइन भन्ने पुष्टि भएको छैन। अडियोको प्राविधिक परीक्षणमा विभिन्न टुक्रा जोडिएको देखिएको विवरणसमेत सार्वजनिक भएको छ। प्रहरीले वा अदालतले पनि यसको आधिकारिकता पुष्टि गरिसकेको छैन।

अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री शाह र उनको सचिवालयको भूमिकामाथि पनि प्रश्न उठेका छन्। प्रहरी अनुसन्धानमा रहनुपर्ने इनमको मोबाइल प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको घरमा दुई दिनसम्म राखिएको भन्ने दाबी सार्वजनिक भएको छ। मोबाइल कसरी र किन सल्लाहकारको घरमा पुग्यो भन्ने विषयमा कांग्रेसले छानबिनको माग गरेको छ। कांग्रेसले प्रधानमन्त्रीका सल्लाहकार बेनको भूमिकामाथि समेत प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको छ।

प्रश्न गर्नेहरूको मुख बन्द गर्न सरकारले विभिन्न उपाय अपनाएको र सरकारका गतिविधिले विगतको शाही शासनको झल्को दिएको आरोपसमेत लागिरहेको छ। सरकारले आफैँ सार्वजनिक गरेका १०० बुँदे प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रै विवाद बढाउने गतिविधिमा लागेको आरोप सरकारमाथि लागेको हो।

जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप खेपिरहेको सरकारको ध्यान जनताका समस्याभन्दा राजनीतिक प्रतिशोध र प्रतिपक्षी दलसँगको टकराबमा केन्द्रित भएको टिप्पणी हुन थालेको छ। भोटेकोशीमा विनाशकारी बाढी आएको तीन महिना पुग्न लाग्दासमेत प्रभावितको पुनर्स्थापना हुन नसकेको विषयमा सरकार आलोचित छ। बाढीपीडितको पुनर्स्थापनामा प्रभावकारी काम गर्न नसकेको सरकारले प्रतिपक्षी दलसँग भने निहुँ खोजिरहेको आरोप लागेको छ।

सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने कांग्रेस सभापति थापालाई पक्राउ गर्ने हल्लासमेत फैलाइएको छ। यसले कांग्रेसका नेता तथा कार्यकर्तामा डर र त्रास सिर्जना गर्ने प्रयास भएको आरोप सरकारमाथि लागेको छ। कांग्रेसमाथि लगाइएका आरोपको प्रतिवाद गर्ने चेतावनी कांग्रेस महामन्त्री डा. डिला संग्रौलाले दिएकी छन्।

गत फागुनको निर्वाचनमा प्रधानमन्त्री शाहको समूहसँग निकट रहेको भनिएका इनम सापकोटाको गैरकानुनी गतिविधिसम्बन्धी विषय सार्वजनिक हुँदै जाँदा सरकारमाथि पनि प्रश्न उठेका थिए। तर, प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको घरमा दुई दिनसम्म रहेको भन्ने दाबी सार्वजनिक भएपछि घटनाले थप राजनीतिक रूप लिएको छ।

मोबाइलको नियन्त्रण, त्यसमा रहेका सामग्री र अडियो सार्वजनिक भएको प्रक्रियाबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठिरहेको छ। मोबाइलमा रहेका सन्देश हटाइएको र सामग्रीको स्क्रिनसट लिइएको भन्ने आरोपसमेत सार्वजनिक भएका छन्। यद्यपि यी आरोपको स्वतन्त्र पुष्टि र अनुसन्धानको निष्कर्ष सार्वजनिक भइसकेको छैन।

कुमार बेनको भूमिकामाथि प्रश्न उठिरहँदा १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापामाथि भने १८ करोड रुपैयाँको आर्थिक लेनदेनको आरोप लगाइएको छ। थापाले उक्त आरोप अस्वीकार गर्दै पार्टीको आधिकारिकता प्राप्त गर्ने प्रक्रियामा एक सुका पनि आर्थिक लेनदेन नभएको स्पष्ट पारेका छन्। उनले इनम सापकोटाको भनिएको अडियोमाथि निष्पक्ष अनुसन्धान गर्नसमेत माग गरेका छन्।

अडियोमा उठाइएका दाबीको सत्यतथ्य सार्वजनिक हुने प्रतीक्षामा रहेको बताउँदै सभापति थापाले आफू कुनै गलत वा अनैतिक काममा संलग्न नभएको बताएका छन्।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने इनमको भनिएको अडियो सार्वजनिक भएपछि सरकारमाथि उठेका प्रश्नभन्दा गगन थापामाथि लागेको आरोपलाई प्राथमिकता दिइरहेको देखिएको छ। विदेशमा रहेका बेला रेड कर्नर नोटिस जारी गरिएका देउवालाई वर्तमान सरकारले स्वदेश फर्किएपछि स्वागत गरेको विषय पनि राजनीतिक वृत्तमा चर्चामा छ।

देउवामाथि लागेका आरोप र उनीसँग जोडिएका विवादबारे सरकारको भूमिका कस्तो छ भन्ने प्रश्न उठिरहेका बेला गगन थापामाथि लागेको आरोपले देउवा पक्षलाई नयाँ राजनीतिक मुद्दा दिएको छ। देउवाले सार्वजनिक कार्यक्रममै १८ करोड रुपैयाँको प्रसङ्ग उठाउँदै पार्टी आर्थिक चलखेलबाट प्राप्त गरिएको आशय व्यक्त गरेका छन्।

देउवाले इनम सापकोटाको भनिएको अडियोमा १८ करोड रुपैयाँको प्रसङ्ग आएको उल्लेख गर्दै ‘त्यो पैसा दिएर पार्टी किनिदियो, अब पैसामा पार्टी बेच्ने हामीले ?’ भन्ने प्रश्न गरे।

देउवासहित उनी पक्षका नेताहरू यतिबेला गगन थापामाथि आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्। कांग्रेसको नेतृत्व गुमाएको असन्तुष्टि र पार्टीको आधिकारिकतासम्बन्धी विवादका बीच देउवा पक्षीय नेताहरूले थापामाथि सार्वजनिक रूपमै आरोप लगाइरहेका छन्।

टेरामक्स प्रकरणमा विशेष अदालतमा मुद्दा खेपिरहेका देउवा पक्षका नेता मोहनबहादुर बस्नेतले पनि केपी शर्मा ओलीसँग गगन थापाको भेटलाई लिएर आलोचना गरेका छन्। उनले थापा ओलीलाई भेट्न गएको विषयलाई खुट्टा ढोग्न गएको अर्थ लाग्ने गरी टिप्पणी गरेका छन्।

गगन थापालाई कमजोर बनाउने र सरकारमाथि उठिरहेका प्रश्नलाई अन्यत्र मोड्ने प्रयास भइरहेको कांग्रेसका नेताहरूको आरोप छ। नक्कली भुटानी शरणार्थी प्रकरण र पासपोर्टसम्बन्धी विवादमा नाम जोडिएकी देउवा पत्नी आरजु राणा विदेशमै रहेको विषय पनि राजनीतिक चर्चामा छ। उनीमाथि लागेका आरोपको अनुसन्धान र स्वदेश फिर्तीको विषयमा सरकारले कस्तो भूमिका खेल्छ भन्ने प्रश्नसमेत उठिरहेको छ।

देउवा र उनी पक्षीय नेताहरूले आफ्नै पार्टीभित्रको विवादलाई चर्काउँदै सरकारलाई सहज बनाइरहेको टिप्पणी हुन थालेको छ। इनम सापकोटाको भनिएको अडियो काण्ड देउवा पक्षका लागि गगन थापाको आलोचना गर्ने नयाँ राजनीतिक मसला बनेको छ।

आफ्नै पार्टीका पूर्वनेताहरू गगन थापाविरुद्ध सार्वजनिक रूपमा आरोप–प्रत्यारोप र गालीगलौजमा उत्रिएका छन्। विधि र विधानअनुसार भएको महाधिवेशनलाई अवैधानिक भन्दै प्रश्न उठाइएको छ। पार्टीको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादले कांग्रेसभित्रको विभाजन थप गहिरिँदै गएको छ।

पटकपटक मन्त्री र प्रधानमन्त्री बनेका नेताले नै १८ करोड रुपैयाँमा पार्टी किनबेच भएको आशय व्यक्त गरेपछि कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले त्यसको प्रतिवाद गरेका छन्। उनले प्रमाणबिना सार्वजनिक भएका सामग्रीका आधारमा पार्टीको महाधिवेशन र नेतृत्वमाथि प्रश्न उठाउन नहुने धारणा राखेका छन्।

कांग्रेसका सहमहामन्त्री अजयबाबु सिवाकोटीले पनि सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका विषयमा साइबर ब्युरोमा पुगेर उनले करिब दुई घण्टा बयान दिनुपरेको थियो। उजुरीकर्ताले नै उजुरी फिर्ता लिएपछि उक्त विषयमा मिलापत्र भएको छ। सिवाकोटीले सरकार प्रश्न गर्नेहरूको मुख थुन्न उद्यत भएको आरोप लगाएका छन्।

सरकारमाथि उठेका प्रश्न र आरोपलाई विषयान्तर गर्दै इनम सापकोटाको भनिएको अडियोमार्फत आरोप गगन थापातिर मोडिएको कांग्रेस नेताहरूको दाबी छ। अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रै आरोप–प्रत्यारोप चर्किएको छ।

अडियोको आधिकारिकता पुष्टि नभएको अवस्थामा त्यसमा गरिएका दाबीलाई आधार बनाएर पार्टी सभापतिमाथि आरोप लगाउने र प्रत्यारोप गर्ने क्रम बढेको छ। छानबिनको निष्कर्ष सार्वजनिक नहुँदा कांग्रेसभित्रको आरोप–प्रत्यारोप थप चर्किने र राजनीतिक विवाद लम्बिने देखिएको छ।

समाचार शेयर गर्नुहोस्
44
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.