परिवारले स्वीकार गरे उदाहरणिय व्यक्ति बन्ने

परिवारले स्वीकार गरे उदाहरणिय व्यक्ति बन्ने

काठमाडौं (पहिचान) माघ २१ – तेस्रोलिंगी समूदायका सदस्यले परिवारले आफूहरुलाई स्वीकार गरे देशकै लागि उदाहरणिय व्यक्ति बन्ने वताएका छन् । समाजमा स्थापित भएर उदाहरणिय बन्ने चाहना छ तर परिवारले नै स्वीकार गरेको छैन उनीहरुले भने, परिवारले अपनाएमा समाजमा लुकेर बसेका अरु व्यक्तिलाई पनि खुल्न सहज हुन्थ्यो । उनीहरुले पहिलो मुख्य कुरा परिवारले स्वीकार गर्ने वातावरण बन्नु पर्नेमा जोड दिए ।

परिवारले स्वीकार नगर्दा शिक्षा, स्वास्थ्य, रोजगार लगायतका सबै अबसरबाट बञ्चित हुनु परेको उनीहरुको गुनासो छ । एसिया क्षेत्र स्तरिय तेस्रोलिंगी नेटवर्कको सहयोगमा नील हिरा समाजले गरेको तेस्रोलिंगीको स्वास्थ्य, अधिकार समेटिएको ब्ल्यु प्रिन्ट (Blue Print) बिषयमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पहिलो र महत्वपूर्ण पक्ष परिवार भएको वताएका हुन् । खुलेर परिवारले स्वीकार गरेका तेस्रोलिंगीले अगाडि बढ्ने हौसला प्रदान गरिदिन आग्रह गरे ।

APTN 1नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले महिला पुरुषको जस्तै यो समूदायका सदस्यको पनि विवाहको कानुन बन्नु पर्नेमा जोड दिइन । तेस्रोलिंगी भनेर खुलेर बाच्न सक्ने आधारभूत अधिकारबाट समूदायका सदस्यलाई बञ्चित नगर्न ढकालले सरोकारवाला निकायलाई आग्रह गरिन् । सहभागीहरुले समाज र राज्यमा तेस्रोलिंगीको पहिचान पाएपनि परिवारमा दाई भाई, दिदी बहिनी, छोरा छोरीकै रुपमा सम्बोधन पाइरहेको वताए । उनीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री कानुन निर्माण भएमा समाजले हेर्ने दृष्टिकोण सकारात्मक बन्ने धारणा व्यक्त गरे । नील हिरा समाज देश विदेशमा पुग्नु पर्ने र बिद्यालय स्तरदेखि अनिवार्य रुपमा आफ्नो समूदायको बिषयमा अध्यापन हुनु पर्ने उनीहरुको भनाई छ ।

यसैबीच नेपालमा पुतली अंकित चित्रमा विभेद अन्त्य गर्ने सन्देश लेखेर सामाजिक संजालमा पोष्ट गर्ने कामको शुरुवात भएको छ । नील हिरा समाजकी कार्यकारी निर्देशक ढकालले पुतली अंकित चित्रमा विभेद अन्त्यको सन्देश लेखेर तस्विर खिचाएर विभेद अन्त्यको अभियान शुरु भएको वताइन । एसिया क्षेत्र स्तरिय तेस्रोलिंगीहरुको नेटवर्कले नेपाल भन्दा पहिले थाइल्याण्डबाट यो अभियान शुरु गरेको नेटवर्कका जो वङले जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.