समलिंगी तेस्रोलिंगीलाई विभेद गर्नु मुर्खता : कुन्ति मोक्तान

समलिंगी तेस्रोलिंगीलाई विभेद गर्नु मुर्खता : कुन्ति मोक्तान

काठमाडौं (पहिचान) बैशाख १३ – गायिका कुन्ति मोक्तानले समलिंगी तेस्रोलिंगीलाई विभेद गरिनु मुर्खता भएको बताएकी छन् । सामान्य महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीमा पनि मानवीय गुण हुने भन्दै उनले फरक पहिचानकै कारण उनीहरुलाई हेयभावले हेर्नु मुर्खता भएको बताइन ।
रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले भनिन्, “सबै नागरिक समान हुन् , समान्य नागरिकमा जस्तै उनीहरुमा पनि गुण हुन्छन् । महिला पुरुष जस्तै अर्को मानिसलाई फरक दृष्टिकोणले हेर्नु पर्छ जस्तो मलाई लाग्दैन । यदि त्यसो गरिन्छ भने त्यो मुर्खता मात्रै हो ।”
सामान्य नागरिक सरह समलिंगी तेस्रोलिंगीलाई आम नागरिकले व्यवहार गरे पुग्ने उनको भनाइ छ । “खासै केही गर्ने पर्दैन, उनीहरुलाई अन्य नागरिक सरह सम्झिएर सामान्य व्यवहार गरे पुग्छ । चेतनाको कमीले फरक नजरले हेर्ने काम भइरहेको छ । समान्य हिसावले लिने र उनीहरुलाई अधिकार दिए पुग्छ ।” गायिका मोक्तानले भनिन् ।
“उहाँहरु पनि हामी जस्तै मान्छे हो । उहाँहरुले पनि हामी जस्तै सोचिरहनु भएको छ । हामीले जस्तै काम गरिरहनु भएको छ । देशका लागि योगदान दिइरहनु भएको छ । त्यसो हो भने उहाँहरु हामी भन्दा कसरी फरक हुनसक्छ ?” उनको प्रश्न छ ।
सबै मानिसमा सचेतता नआएसम्म समलिंगी तेस्रोलिंगी माथि भैरहेको विभेद अन्त्य हुन नसक्ने उनले बताइन् । “संविधानमा अधिकार सुरक्षित भयो भन्दैमा त्यो लागु भइहाल्छ र समान व्यवहार भइहाल्छ भन्ने होइन । पहिला सबै सर्बसाधारण नागरिकमा सचेतता आउनु पर्छ । अनि मात्र महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीलाई पनि समान नजरले सबैले हेर्नेछन्”, गायिका मोक्तानले भनिन्, “विकसित देशमा महिला पुरुषस सरहकै समानता छ । सबै सामान्य हो भन्ने छ । हाम्रोमा भने विविधता छ तर, त्यसलाई स्वीकार गर्न सकेका छैनौं । त्यही नै समस्या भइरहेको छ ।”
एकले अर्कोलाई यस्तो र उस्तो भन्नु भन्दा पनि हामी सबै एउटै हो भनेर सोचे मात्र हुने उनले बताइन् । “मान्छे शिक्षित मात्रै भएर हुँदो रहेनछ, उसको व्यवहारमा पनि त्यो झल्किनु पर्दोरहेछ । अनि मात्रै समानता होला ।” उनले भनिन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.