समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईंदै

समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईंदै

काठमाडौं (पहिचान) जेठ ४ – समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्व स्वास्थ्य संगठनले सन् १९९० मे १७ तारिखमा समलिंगी तेस्रोलिंगी अवस्थालाई रोगको सूचीबाट हटाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।
नीति निर्माता, सामाजिक अभियन्ता, सर्वसाधारण र सन्चारमाध्यमलाई यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगेको हिंसा र विभेदप्रति ध्यानाकर्षित गर्ने उद्धेश्यले विश्वव्यापी उत्सवका रुपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । अहिले विश्वका १ सय ३० भन्दा बढी देशमा दिवस मनाउने गरिएको छ । विश्वका ३७ देशमा समलिंगी व्यवहार अवैध मानिन्छ ।
दिवसका अवसरमा आज नील हिरा समाज र क्रुज एड्स नेपालको संयुक्त आयोजनामा तेस्रोलिंगी बौद्धिक तथा सौन्दर्य प्रतियोगिता अर्थात् मिस पिङ्क २०१६ हुँदैछ । राष्ट्रिय नाच घर जमलमा दिउँसो ४ बजेपछि हुने प्रतियोगितामा १८ जना तेस्रोलिंगी महिला सहभागी हुनेछन् । प्रतियोगिताले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलाई महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने छ ।
‘सहभागिलाई आत्मविश्वास सहित यस्ता गतिविधिमा सहभागि हुन सक्षम बनाउने छ भने उनीहरुलाई अन्तराष्ट्रिय मञ्चसम्म पुग्ने अवसर पनि प्रदान गर्छ’ नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, ‘प्रतियोगिताको विजेताले थाइल्याण्डमा हुने मिस पिंक इन्टरनेशनलमा सहभागिता जनाउने र विश्वका प्रतिस्पर्धी सँगै तालिममा सहभागि हुने अवसर प्राप्त गर्नेछ ।’ उनले झण्डै मिस नेपाल जत्तिकै अवसर पाउने प्रतियोगिताले एउटा मानिसमा भएका सबैखाले खुविहरुलाई प्रस्फुटन गरिदिने बताइन् ।
नील हिरा समाजले आफ्नो स्थापनाकालदेखि नै यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको हक, अधिकार सम्बोधन गर्नका लागि वकालत कार्यक्रमलाई शसक्त बनाउन मिस पिंक प्रतियोगिता कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिदिन आयोजक नील हिरा समाज र क्रुज एड नेपालले सम्पूर्ण टेलिभिजन च्यानल, रेडियो स्टेसन, अनलाइनहरुलाई अनुरोध गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.