किन दियो नयाँ शक्ति नेपालले ‘क्लिन काठमाडौं ग्रिन काठमाडौं’ अभियानको नेतृत्व ? नयाँ शक्ति भन्छ, ‘सहभागिताले हैन क्रियाशीलताले’

किन दियो नयाँ शक्ति नेपालले ‘क्लिन काठमाडौं ग्रिन काठमाडौं’ अभियानको नेतृत्व ? नयाँ शक्ति भन्छ, ‘सहभागिताले हैन क्रियाशीलताले’

अम्बिका दाहाल/पहिचान – नयाँ शक्ति नेपालले समलिंगी तेस्रोलिंगी समुदायबाट केन्द्रीय परिषदमा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई सदस्य बनाएसँगै अनेक चर्चा परिचर्चा सुरु भएका थियो । झन नयाँ शक्ति नेपालले सुरु गरेको सफा स्वच्छ र सुन्दर सहर निर्माणको अभियान ‘क्लिन काठमाडौं ग्रिन काठमाडौं’ को काठमाडौं जिल्ला संयोजकमा नै उनैलाई तोकेपछि त्यो चर्चा थप चुलिएको छ ।

सबैको प्रश्न छ किन तेस्रोलिंगीलाई संयोजक तोकियो त ?
नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा ‘क्लिन काठमाडौं ग्रिन काठमाडौं’ अभियानका राष्ट्रिय संयोजक गंगा श्रेष्ठले उनीहरुको निरन्तरको सहभागिता र क्रियाशीताले नै संयोजनको जिम्मेवारी दिएको बताए । ‘समलिंगी तेस्रोलिंगी साथिहरु संस्थागत रुपमा नै दशौ हप्तासम्म लगातार यहाँ सहभागिता जनाउनुभएको छ’ श्रेष्ठले भने, ‘पिंकीजीलाई तेस्रोलिंगी भएकै कारण सरसफाइ अभियानको संयोजक बनाइएको हैन, उहाँको समुदाय परिचालन र क्रियाशीलतासहितको सहभागिता देखेर नै संयोजक तोकेका हौं ।’ उनले नयाँ शक्ति भनेको बैकल्पिक राजनीतिक शक्ति मात्र नभएर बैकल्पिक राजनीतिक अभियान पनि भएको भन्दै यो अभियाले अरुले नसमेटेका र समेटेका सबैलाई सँगै लिएर हिड्ने बताए ।
महिला पुरुष भन्दा धेरै र निरन्तरको सहभागिता छ तेस्रोलिंगीको
नयाँ शक्ति नेपालकी सचिवालय सदस्य तथा नेतृ हिसिला यमिले नयाँ शक्तिको अभियानमा समलिंगी तेस्रोलिंगीको उत्साह सहितको सहभागिता रहेको बताइन् । ‘पुरुष महिला भन्दा पनि ठुलो संख्यामा उहाँहरुको सहभागिता छ र त्यो क्रियाशीलता सहितको सहभागिता छ’ यमिले भनिन्, ‘नयाँ शक्तिले सदस्यता फारममै पुरुष महिला र तेस्रोलिंगको पनि व्यवस्था गरेकाले पनि उनीहरु उत्साहित छन् ।’ उनले जे भन्छ त्यही गर्ने नयाँ शक्तिको विशेषता भएको भन्दै त्यही बुझेकै कारण उनीहरु पनि नयाँ शक्तिको अभियानमा लागेको बताइन् ।
तेस्रोलिंगीले समाजलाई देखाउने अबसर पनि हो
तेस्रोलिंगी तथा नयाँ शक्ति नेपाल केन्द्रीय परिषद्की सदस्य पिंकी गुरुङले ‘क्लिन काठमाडौं ग्रिन काठमाडौं’ अभियान राजनीतिक दलको मात्र नभएर समलिंगी तेस्रोलिंगीको पनि समाजलाई केही गरेर देखाउने अवसर भएको बताईन् ।
‘स्वच्छ सहर भएन भने स्वस्थ जनता पनि नहुन सक्छन्’ गुरुङले भनिन्, ‘स्वस्थ नागरिक भए मात्र उसले देशका लागि योगदान दिनसक्छ ।’ उनले स्वस्थ नागरिक उत्पादन गर्न र प्रदुषण मुक्त सहर निर्माणको अभियानमा सहभागिता जनाउन पाउनु तेस्रोलिंगी वा अरु कुनै भन्दा पनि सबै नागरिकका लागि गर्वको विषय भएको बताईन् ।
उनले अभियानले दुईवटा पाटोमा काम गर्ने भन्दै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्ने बताइन् । ‘एउटा त समाजमा समलिंगी तेस्रोलिंगीहरुको पनि अस्तित्व छ भनेर स्थापित गराउनु आवस्यक छ र राजनीतिक रुपमा यो समुदायको मुद्धालाई कसरी अघि बढाउन सकिन्छ भन्ने पनि हो’ उनले भनिन्, ‘त्यस बाहेक समलिंगी तेस्रोलिंगी समुदायका मानिसलाई पनि आम नागरिक जस्तै मेरो पनि राज्यप्रति दायित्व छ भनेर महसुस गराउनु पनि यो अभियानको लक्ष्य हुनेछ ।’
सरसफाइ अभियानमा सहभागि समलिंगी तथा क्रुज एड्स नेपालका अध्यक्ष प्रदिप अधिकारीले यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीहरु समाजमा घुलमिल हुन सबैखाले अभियानमा सहभागि हुनुपर्ने बताए । ‘सरसफाई अभियान भनेको सबैलाई स्वस्थ बनाउने अभियान हो’ अधिकारीले भने, ‘हामी धेरै कार्यक्रममा सहभागि छौं, यो अभियानमा चाही १० हप्ता देखि लागिरहेको छु ।’’ उनले समलिंगी तेस्रोलिंगीहरुका तर्फबाट पिंकी गुरुङलाई नै अभियानको संयोजक बनाएकाले पनि आफूहरु उत्साहित भएको बताए । उनले महिला पुरुषसँगै आफूहरुले पनि अभियानमा काम गर्न पाउँदा खुशी लागेको बताए ।
सर्वसाधारण मोहन सुवेदीले सरसफाई अभियानमा महिला पुरुषसँगै तेस्रोलिंगीको सहभागिता आफूलाई राम्रो लागेको बताए । ‘समलिंगी तेस्रोलिंगीलाई पहिले मान्यता पनि थिएन, उनीहरु देखिएर आउन पनि सकेका थिएनन्’ सुवेदीले भने, ‘तर आज आएर उनीहरु पनि समान्य नागरिक हुन् भन्ने कुरा स्वीकार गरिएको छ ।’
उनले सरसफाई अभियानमा मात्र नभएर हरेक अभियानमा सँगसँगै हिड्नुपर्ने बताए । ‘त्यसपछि मात्र हरेक विषय सामान्य ढंगले हेर्ने दृष्टिकोण तयार हुन्छ’ उनले भने, अहिले नयाँ भने पनि यो समुदाय प्राचिन समयमा पनि किन्नर समुदायका रुपमा रहँदै आएका थिए ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.