सुनसरीमा २० हजार समलिंगी तेस्रोलिंगी

सुनसरीमा २० हजार समलिंगी तेस्रोलिंगी

सुनसरी (पहिचान) जेठ १८ – नील हिरा समाजले पूर्वाञ्चलमा २० हजार यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्कमा आएको जनाएको छ । नील हिरा समाजको शाखा कार्यालय इटहरीले आफ्नो सम्पर्कमा २० हजार यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय आफ्नो सम्पर्कमा आएको जनाएको हो ।
नर्वेजियन दूताबासको सहयोगमा नील हिरा समाजले सुनसरीको इटहरीमा आयोजना गरेको कार्यक्रममा उक्त शाखा कार्यालयका प्रमुख रवी श्रेष्ठले समलिंगी तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी गरेर २० हजार आफ्नो सम्पर्कमा रहेको बताए ।
यो अझै ठूलो संख्यामा रहे पनि परिवार र समाजबाट विभेद हुने डरले खुल्नेको संख्या न्यून रहेको श्रेष्ठको भनाइ छ । परिवारबाट विभेद नहुने र समाजले पनि सकारात्मक व्यवहार हुने हो भने समलिंगी तेस्रोलिंगी खुलेर आउने उनले बताए । अनौपचारिक रुपमा सम्पर्कमा आउनेको संख्या ठूलो रहे पनि पहिचानसहित समाजमा खुल्न भने डराउनेको संख्या धेरै रहेको उनले जानकारी दिए ।
सुनसरीमा अन्य उल्लेख गरेर अहिलेसम्म कसैले पनि नागरिकता लिएका छैनन् । पहिला नागरिकता लिएकाले नाम फेरेर मात्र नयाँ नागरिकता लिन चाहेको र कानुनले उक्त व्यवस्था नगरेकाले अन्य उल्लेख गरेर नागरिकता लिनेको संख्या शून्य भएको हो । ‘नाम फेरेर नागरिकता दिने कानुनी व्यवस्था भएको खण्डमा भने धेरै तेस्रोलिंगी पहिचान अनुसारको नागरिकता लिन तयार छन्, तर अहिले त्यो व्यवस्था कानुनले गरेको छैन । त्यसैले अन्य उल्लेख गरेर नागरिकता कसैले पनि लिएको छैन ।’ श्रेष्ठले भने ।
चालु आर्थिक वर्षमा नील हिरा समाज शाखा कार्यालयलाई जिल्ला विकास समिति सुनसरीले २ लाख ८० हजार बजेट विनियोजन गरेकोमा इटहरी उपमहानगरपालिकाले १ लाख बजेट विनियोजन गरेको छ ।
श्रेष्ठले उक्त बजेट निकै न्यून रहेको बताए । बजेट अभावमा खुलेर आउने समलिंगी तेस्रोलिंगीलाई पनि सीपमुलक तालिम दिन नसकिएको भन्दै उनले सरकारले पर्याप्त बजेट विनियोजन गर्नु पर्नेमा जोड दिए ।
निकै ठूलो संख्यामा रहेका समलिंगी तेस्रोलिंगीलाई उनीहरुको पहिचानको सम्मान गर्न र खुल्ने वातावरण बनाउन पनि सरकार तथा स्थानीय निकायले पर्याप्त बजेट छुट्याउनु पर्ने श्रेष्ठको भनाइ छ ।
खुलेर आउने समलिंगी तेस्रोलिंगीले नील हिरा समाजमा रोजगारको अपेक्षा गर्ने गरेका छन् । दातृ निकायको सहयोगमा यौनिक तथा लैंगिक अलपसंख्यकको अधिकारका लागि काम गर्दै आएको नील हिरा समाज दातृ निकायले सहयोग रोकेको अवस्थामा अधिकारको अभियानसमेत चलाउन सक्ने अवस्थामा नरहेको भन्दै श्रेष्ठले समलिंगी तेस्रोलिंगी पनि आफ्नै देशको नागरिक रहेको भन्दै सकारसँग बजेट विनियोजनको माग गरे ।
परिवार र समाजको अपहेलना र रोजगारको अभावमा सुनसरीमा करिब ५० जना समलिंगी तेस्रोलिंगी यौन व्यवसायमा लाग्न बाध्य भएका छन् । इटहरी र धरानमा उनीहरु यो पेशा गरिरहेका छन् । श्रेष्ठका अनुसार उनीहरुलाई यो पेशाबाट विस्थापन गराउन पनि सीपमुलक तालिम तथा रोजगारीको आवश्यकता रहेको बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.