‘सरकारले तेस्रोलिंगीलाई बजेटमा छुटाएर गल्ति गरेकै हो’

‘सरकारले तेस्रोलिंगीलाई बजेटमा छुटाएर गल्ति गरेकै हो’

काठमाडौं (पहिचान) असार २ – सांसद प्रेमबहादुर गिरीले सरकारले बजेट ल्याउदा समलिंगी तेस्रोलिंगी समुदायलाई छुटाएर गल्ति गरेको बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको आवाज रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै सत्तारुढ नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने सांसद गिरीले सरकारले बजेटमा छुटाए पनि अब स्थानीय निकाय र सम्बन्धित विभागले समेटनुपर्ने बताए ।
‘संविधानले समेत यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर सम्बोधन गरेको समुदायलाई बजेटमा छुटाएर सरकारले गल्ति गरेको छ’ गिरीले भने, ‘त्यो गल्ति अब स्थानीय निकाय र मन्त्रालयगत बजेटबाट तेस्रोलिंगीलाई संबोधन गरेर सच्याउन सकिन्छ ।’ उनले सरकारलाई एकातिर बजेट वितरण मुखी बनायो भन्ने आरोपले समस्या पारेको र अर्कातिर सबै समुदालाई समेट्ने चुनौति रहेको बताए ।
‘एकातिर यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संविधानले संबोधन गरेका समुदाय बजेट अभावमा छन् अर्कातिर सरकारले बजेट छर्यो अर्थतन्त्रमा समस्या ल्यायो भन्नेहरु छन्’ उनले भने, ‘तर सरकारले परिवर्तनलाई अनुभूत गराउने र सबैका समस्या समाधानलाई केन्द्रमा राख्ने नीति बनाएको छ ।’ उनले सबैलाई बजेटका शिर्षकमा संबोधन गर्न नसकिएपनि मन्त्रालयगत बजेटमा समेट्न सकिने बताए । ‘बजेटका शिर्षकमा नाम छुट्यो भन्दैमा बजेटबाटै अलग रहने हुँदैन त्यसकारण म सबै समुदायलाई नआत्तिन आग्रह गर्छु’ गिरीले भने ।
उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय भनेर संविधानले संबोधन गरेको समलिंगी तेस्रोलिंगीले कानुनबाट समान नागरिकको हैसियत प्राप्त गर्ने आश्वासन पनि दिए । ‘संविधानले संबोधन गरेको विषयमा कानुनले पनि संबोधन गरेर सबै नागरिकलाई समान हैसयितमा पुर्याउनै पर्छ’ गिरीले भने ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.