काठमाडौं (पहिचान) असार ३ – नेपालका समलिंगी तेस्रोलिंगीहरुको मातृ संस्था नील हिरा समाजले अमेरिकाको फ्लोरिडास्थित समलिंगी रात्री क्लवमा भएको घटनाको भत्र्सना गरेको छ । समाजले विज्ञप्ती निकालेर यस्ता खालका घटना दोहोरिन नदिनका लागि विश्व सामू तत्काल भरपर्दो कदम चाल्न अपिल पनि गरेको छ ।
‘अमेरिकाको फ्लोरिडा राज्यको ओरलाण्डो स्थित समलिंगी रात्री क्लवमा आइतवार राती भएको नरसंहार घटनामा परी ४९ जना समलिंगीको मृत्यु भएको त्रासपूर्ण समाचारले हामी नेपालमा रहेका सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक समूदाय स्तब्ध भएका छौ ’ समाजकी अध्यक्ष पिंकी गुरुङ र कार्यकारी निर्देशक मनिषा ढकालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले हामीलाई मर्माहित र दुखित तुल्याएको छ ।’ समाजले निन्दा र भत्र्सनाले मात्रै पर्याप्त नहुने भन्दै यस्ता घटना दोहोरिन नदिन तत्काल भरपर्दो कदम चाल्नु आवस्यक भएको पनि बताएको छ ।
समाजले केही महिना अघि मात्रै बंगलादेशमा दुई जना समलिंगी अधिकारकर्मी एवं पत्रकारको हत्या गरेको घटना सेलाउन नपाउँदै अमेरिका जस्तो विकसित मुलुकमा समलिंगी माथि जघन्य घटना हुनुले विश्वभरका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको ध्यानाकर्षण भएको जनाएको छ । ‘नील हिरा समाज संसारका निश्चित कुनै एउटा कुनामा मात्र भएको प्रगति प्रति खुशी हुँदैन । समाज विश्वका हरेक कुनामा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको प्रगति भएको हेर्न र सुन्न चाहन्छ साथै अधिकारका लागि ऐक्यवद्धता जाहेर गर्दछ ’ विज्ञप्तिमा भनिएको छ ।
समाजले ओरलाण्डोमा समलिंगीहरु माथि भएको निर्दयी र बर्बर हत्याकाण्डको गहिरो छानविन गरी दोषि र घटनामा संलग्न रहेकालाई कडा कारवाही गर्न माग पनि गरेको छ ।
मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभका लागि दीप प्रज्वलन
हत्याको विरोध र मृतकप्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गर्ने भएको छ । समाजले आज शुक्रबार साँझ छ बजे बसन्तपुर डबली पुगेर ओरलाण्डो घटनामा मृत्यु भएकाहरुको आत्माको शान्ति र घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्ने जनाएको छ ।
‘हामी बसन्तपुर पुगेर शान्तिपूर्णरुपमा मृतकको आत्माको शान्तिको कामना गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभ र परिवारप्रति समवेदना प्रकट गर्छौ’ नील हिरा समाजकी कार्याकारी निर्देशक मनिषा ढकालले भनिन, ‘यो हामीले शान्तिपूर्णरुपमा गर्ने कार्यक्रम घटना प्रतिको विरोध पनि हो ।’ उनले यस्ता घट्नामा गरिने शान्तिपूर्ण विरोधले नै विश्वभरिको ऐक्यवद्धता जुट्न सक्ने र भोलीका दिनमा त्यस्ता घटना नदोहोर्याउन विश्व समुदायलाई प्रेरणा प्रप्त हुने बताइन् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.