‘जनरल पोलिसीले तेस्रोलिंगीलाई संबोधन गर्न सक्दैन’

‘जनरल पोलिसीले तेस्रोलिंगीलाई संबोधन गर्न सक्दैन’

अम्बिका दाहाल/काठमाडौं (पहिचान) साउन २ – शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले यौनिक तथा लैंगिकअल्पसंख्यक माथि रहेको विभेद अन्यका लागि पाठ्यक्रममा समावेश गर्नु पर्नेमा जोड दिएका छन् ।
कक्षा ६, ७ र ८ मा मात्रै भन्दा पनि सबै कक्षाको पाठ्यक्रममा समावेश गर्नु पर्नेमा उनको जोड छ । नील हिरा समाजका उप निर्देशक परशुराम राईसँगको कुराकानीमा उनले पाठ्यक्रममा समलिंगी तेस्रोलिंगीलाई सकारात्मक रुपमा हेर्ने वातावरण बनाउन पाठ्यक्रममा समावेश गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पाठ्यक्रममा समावेश गरेको विषय बुझ्ने शिक्षक पनि नभएको सहसचिव लम्सालले बताए । “म पनि यो विषय तपाईहरुसँग तीन चार पटकको छलफलपछि केही बुझ्ने भएको छु, मलाई लाग्छ पाठ्यक्रममा समावेश भएको विषय बुझ्ने शिक्षक पनि कमै छन्”उनले भने,“यो विषय बुझाउन टिचर ट्रेनिङमा यसलाई पनि समावेश गर्नुपर्छ ।”
“समाजिक, सांस्कृतिक कारणले यो विषयलाई बुझेर पनि नबोल्ने मान्छे धेरै छन्, बिस्तारै यो परिस्थितिको अन्त्य हुँदै जान्छ”, लम्सालले भने,“सबैभन्दा पहिले तपार्ईहरुले पाठ्यक्रम विकास केन्द्रमा गएर आफ्नो विषयबारे सेन्सटाइज गर्नुस्, यो नै सबैभन्दा राम्रो हुन्छ । पाठ्यक्रममा समावेश भयो भने धेरैले बुझ्ने मौका पाउँछन्, जारी विभेद अन्त्य हुन्छ ।”
छलफलमा उप निर्देशक राईले नील हिरा समाजले ६०१ जना शिक्षकलाई समलिंगी तेस्रोलिंगीबारे तालिम दिएको र उनीहरुले करिब ५० हजार विद्यार्थीलाई यौनिक तथा लैंगिक अलपसंख्यकको अवस्था र अधिकारबारे जानकारी दिएको बताए ।
लम्सालले लामो समयदेखि सिमान्तकृत बनाइएका समलिंगी तेस्रोलिंगीलाई मूल धारमा ल्याउन जनरल पोलेसीले मात्रै नपुग्ने बताए । विशेष अधिकारको व्यवस्था नगरेसम्म समलिंगी तेस्रोलिंगी महिला पुरुष सरह समान रुपमा अघि बढ्न नसक्ने उनको भनाइ छ ।
लम्सालले शिक्षक महासंघमा पनि आफ्नो मुद्दा र अवस्थाबारे छलफल गर्न पनि सुझाव दिए । महासंघलाई समलिंगी तेस्रोलिंगीबारे बुझाउन सकिए पाठ्यक्रममा समावेश भएको यौनिक तथा लैंगिक अल्पसंख्यकबारे समाजमा सकारात्मक प्रभाव पार्ने लम्सालको भनाइ छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.