संविधान पढेर अधिकार खोज्नुस्ः अधिवक्ता पन्त, रुपन्देहीमा ८ हजार समलिंगी तेस्रोलिंगी

संविधान पढेर अधिकार खोज्नुस्ः अधिवक्ता पन्त, रुपन्देहीमा ८ हजार समलिंगी तेस्रोलिंगी

रुपन्देही (पहिचान) साउन ७ – अधिवक्ता सुजन पन्तले समलिंगी तेस्रोलिंगीका अधिकारका हिसावले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन । उनले नेपालको नयाँ संविधानको धारा, १२, १८ र ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार उल्लेख गरेको भन्दै अब सोही अनुसारको कानुन बन्नु पर्नेमा जोड दिए ।
कुनै सरकारी तथा गैर सरकारी निकायले विभेद गरेको खण्डमा संविधानका यिनै तीन वटा धारामा टेकेर अधिकारका लागि लड्न सकिने पन्तको भनाई छ । संविधानमा अधिकार उल्लेख गरेको र सर्वोच्च अदालतले पनि पटक पटक समलिंगी तेस्रोलिंगीका पक्षमा फैसला गर्दा पनि कतिपय सरकारी निकायहरुले भने विभेद गर्न नछोडेको उनले बताए ।
नील हीरा समाज शाखा कार्यालय रुपन्देहीकी कार्यक्रम संयोजक मनिला न्यौपानेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अवसरबाट बञ्चित नभएर बञ्चित पारिएको बताइन् ।
नील हीरा समाज शाखा कार्यालय रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा उनले समलिंगी तेस्रोलिंगी समुदाय अवसर पाए जस्तो सुकै काम गर्नसक्ने बताइन् ।
‘हामी अवसरबाट बञ्चित भएका होइनौं, बञ्चित पारिएको हो,’ न्यौपानेले भनिन्, ‘हामीले अवसर पायौं भने हामी अरुले गरेको काम गर्न सक्छौं र गरि पनि रहेका छौं ।’
लोकसेवा आयोगले समलिंगी तेस्रोलिंगीलाई पनि कोटा छुट्याईदिनु पर्ने उनले बताइन् । उनले कोटा छुट्याइदिए कम्तिमा वर्षमा १०/१२ जना सरकारी निकायमा पुग्ने बताइन् ।
कार्यक्रम संयोजक न्यौपानेले रुपन्देहीमा ८ हजार समलिंगी तेस्रोलिंगी आफ्नो सम्पर्कमा आएको जानकारी दिइन् ।
कार्यक्रममा तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले आफूले नागरिकता लिँदा झेल्नु परेको समस्या उल्लेख गरिन् । उनले समलिंगी तेस्रोलिंगीबारे स्पष्ट बुझाई नभएकै कारण सरकारी अधिकारी कै कारण नागरिकता दिन दुःख दिने गरेको बताइन् ।
समलिंगी तेस्रोलिंगीहरुले आफ्नो समुदायका लागि मात्रै काम नगरेको भन्दै रानाले समाजका सबै पक्षले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहयोग नगरेको गुनासो गरिन् । यद्यपी पछिल्लो समय यसमा केही परिवर्तन आउन थालेको रानाको बुझाइ छ ।
कार्यक्रमका अन्य वक्ताहरुले समलिंगी तेस्रोलिंगी पनि विपरित लिंगी महिला पुरुषसरह समान रहेको भन्दै सरकारले सिप विकास तथा सचेतनाका लागि बजेट विनियोजन गर्नु पर्ने जोड दिएका थिए । उनीहरुले यसका लागि सरोकारवाला पक्षहरुले समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अन्तरलिंगी इशान रेग्मीले आफूले फरक पहिचान भएकै कारण भोग्नु परेको समस्याबारे सहभागीलाई जानकारी दिदैं पछिल्लो समय अन्तरलिंगी व्यक्तिहरुको अधिकारका बारेमा पनि काम हुन थालेको बताए । उनले नील हीरा समाजको सम्पर्कमा अहिले ४० जना अन्तरलिंगी आएको जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.