गाइजात्राका अवसरमा नील हिरा समाजले मनाउदै ‘एलजीवीटी प्राइड’ : अमेरिकी राजदुत र मानवअधिकार क्याम्पिएनका प्रतिनिधि सहभागि हुने

गाइजात्राका अवसरमा नील हिरा समाजले मनाउदै ‘एलजीवीटी प्राइड’ : अमेरिकी राजदुत र मानवअधिकार क्याम्पिएनका प्रतिनिधि सहभागि हुने

काठमाडौं (पहिचान) साउन २७ – यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले गाइजात्राका अवसरमा मनाउदै आएको ‘एलजीवीटी प्राइड’ यस वर्ष पनि भव्यताका साथ मनाउन लागेको छ । विभेद र हिंसा विरुद्ध अभियान चलाउँदै आएको समाजले यस वर्षको ‘एलजीवीटी प्राइड’ को नारा ‘पूर्ण आत्मसम्मान सहितको हिंसा रहित समाज’ भनेर बनाएको छ ।
वितेका १२ वर्ष देखि मनाउँदै आएको ‘एलजीवीटी प्राइड’मा सहभागि हुन यस वर्ष अमेरिकी मानव अधिकारवादी संस्था ‘ह्युमनराइट क्याम्पिएन ग्लोवल’का नेसनल फिल्ड डाइरेक्टर मार्टी रोज नपाल आउँदैछन् ।
समाजले आगामी भदौं ३ गते आयोजना गर्ने ‘एलजीवीटी प्राइड’मा उनीसँगै अमेरिकी राजदुत एलिना बी टेप्लिज पनि सहभागि हुँदैछन् ।
गाइजात्राका दिन हरेक वर्ष मनाउने एलजीवीटी प्राइड यस वर्ष पनि विगत वर्षहरुमा झै ठमेलस्थित संचयकोष भवन अगाडीबाट सुरु गरी वषन्तपुरमा पुगेर मैनवत्तीको दिपावली गर्दै समापन गर्ने कार्यक्रम छ । संचयकोष भवन अगाडीबाट सुरु हुने र्यालीमा सहभागि हुन देश भरका तेस्रोलिंगीहरु काठमाडौं आउँदै छन् । देशका विभिन्न ठाउँबाट आउने यौनिक अल्पसंख्यक समुदायले आआफ्ना क्षेत्रका सांस्कृतिक झलक दिने झाँकीहरु पनि प्रदर्शन गर्ने छन् ।
‘यस वर्ष अमेरिकी राजदुत र अमेरिकाको मानवअधिकाका क्षेत्रमा काम गर्ने संस्थाका निर्देशक पनि हाम्रो पर्व ‘एलजीबीटी प्राइड’मा सहभागि हुँदै हुनुहुन्छ’ समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्, ‘त्यही कारण पनि यस वर्षको ‘एलजीबीटी प्राइड’ विशेष हुँदैछ, भव्य हुँदैछ ।’ उनले विशेष हुने भएकैले अहिले मिडिया र अन्य क्षेत्रको पनि विशेष आकर्षण ‘एलजीबीटी प्राइड’मा हुने बताइन् ।
एलजीबीटी प्राइडको दिन हुने र्यालीमा करिव दुईहजार मानिस सहभागि हुने उनले बताइन् । ‘आगामी भदौ तीन गते साँढे १२ बजे म सबैलाई ठमेलस्थित संचायकोष भवन अगाडी आउन र एलजीवीटी प्राइडमा सहभागि हुनु आह्वान गर्दछु’ मनिषाले भनिन्, ‘यौनिक अल्पसंख्यकहरु घृणा र अपहेलनाका पात्र मात्र हैनन् भनेर बुझ्न चाहनेले ठमेलमा आउनु जरुरी छ ।’
उनले बसन्तपुरमा गरिने मैनवत्ति प्रज्वलनको भने छुट्टै महत्व रहेको बताइन् । ‘बसन्तपुरमा गरिने मैन वत्ति प्रज्वलन एक बर्ष भित्र ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण हो’ ढकालले भनिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.