‘कुन्ड कुन्ड पानी, मुन्ड मुन्ड बुद्धी’

‘कुन्ड कुन्ड पानी, मुन्ड मुन्ड बुद्धी’

काठमाडौं (पहिचान) असोज १७ – ‘कुन्ड कुन्ड पानी, मुन्ड मुन्ड बुद्धी’ समलिंगी तेस्रोलिंगीलाई समाजले हेर्ने दृष्टिकोणप्रति चलचित्र निर्देशक ऋषि लामिछानेको प्रतिक्रिया हो यो । “तपाईको सोच्न सक्ने क्षमता जति छ त्यती मात्रै हो सोच्ने, मेरो जति छ सोच्न सक्ने क्षमता त्यती मात्रै सोच्नसक्छु म ।

हामी के बुझ्दैनौ भने– मान्छे हुन् उनीहरु पनि, उनीहरुलाई पनि बाँच्ने अधिकार छ र उनीहरुको पनि हाम्रो जस्तै मन छ,” उनले अगाडि भने, “उनीहरुमा पनि चेतना छ, उनीहरुलाई पनि दुख्छ, आँसु आउछ । उनीहरु पनि रुन्छन्, उनीहरु पनि हाँस्छन् । उनीहरुमा पनि बेदना हुन्छ । खै यो कुरा हामी किन बुझ्दैनौं ।”
“समाज हो यो समाजमा सेतो पनि हुन्छ कालो पनि हुन्छ । दिनमा रात पनि हुन्छ उज्यालो पनि हुन्छ, कहिले घाम लाग्छ, कहिले पानी पर्छ । त्यही भएर न समाज भयो” ऋषिले भने, “उनीहरु पनि मान्छे हुन भन्ने हामी किन बुझ्दैनौं ? यो समाजमा दिउसै सडकमा चोर्दै हिड्ने मान्छे पनि छन्, भद्रभलाद्मी पनि छन् ।

सिर्जनाको कुरा गरौं–तुलसी घिमिरे जस्ता निर्देशक पनि यहीँ छन् अनि नेपाली सिनेमा उद्योगलाई नै बद्नाम गर्ने केही निर्देशक पनि यहाँ छन् । त्यसैले समाज भनेकै विभिद्ता हो । यसलाई सबैले खुला हृदयले स्वीकार्नु सक्नुपर्छ । त्यो नै मान्छे हो ।”
उनले समलिंगी तेस्रोलिंगीलाई पनि समाजले सकारात्मक रुपमा लिनु पर्नेमा जोड दिए । यसका लागि राज्यका सबै तह र तप्काले सहयोग गर्नु पर्ने उनको भनाइ छ ।
कतिपय चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा चित्रण गर्ने गरिएकोमा असहमति जनाउँदै उनले भने, “मैले आजसम्म नौ वटा चलचित्र निर्देशन गरें । तर, आजसम्म समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा चित्रण गरेको छैन र गर्ने पनि छैन र गरिनु पनि हुँदैन ।”
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई नकारात्मक रुपमा चित्रण गरिएको चलचित्रलाई सेन्सरबोर्डले समेत रोक्नु पर्ने भन्दै उनले यसका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न समलिंगी तेस्रोलिंगीलाई सुझाव दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.