समलिंगी तेस्रोलिंगी पनि बेचिन सक्छन् : सुनिता दनुवार

समलिंगी तेस्रोलिंगी पनि बेचिन सक्छन् : सुनिता दनुवार

काठमाडौं (पहिचान) कार्तिक १ – शक्ति समुहकी कार्यकारी निर्देशक सुनिता दनुवारले समलिंगी तेस्रोलिंगी पनि बेचबिखनमा पर्ने बताएकी छन् । महिला मात्रै बेचविखनमा पर्छन् भन्ने आम मान्यता रहे पनि त्यो बुझाइ गलत रहेको उनको भनाइ छ ।
“महिला मात्रै मानव वेचबिखनमा पर्छन् भन्ने मान्यता छ, पुरुष पनि बेचिन्छन्,” रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै सुनिताले भनिन्, “समलिंगी तेस्रोलिंगी पनि बेचिन्छन् । यहाँ यौन पेसामा जबरजस्ती लगाउने कार्यलाई मात्र बेचविखन भन्ने बुझाइ रहेको छ, तर जबरजस्ती कुनै पनि काम लगाउनु पनि मानव बेचविखन नै हो ।”sunita
उनले समलिंगी तेस्रोलिंगी पनि बेचिरहेको हुनसक्ने भन्दै यो अवस्था आउन नदिन आफू र आफ्नो संस्था सधै तयार रहेको बताइन् । उनले शक्ति समूह समलिंगी तस्रोलिंगीको अधिकारका लागि सहकार्य गर्न तयार रहेको बताइन् । “हामी आजको अवस्थामा यत्तिकै आएका होइनौं । धेरै संघर्ष गरेर मात्रै यो अवस्थामा आएका हौं । अधिकार प्राप्तीको अभियानमा रहेका समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्न शक्ति समूह सँधै तयार छ ।”
उनले अधिकार प्राप्तीका लागि खुलेर आउन यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आग्रह समेत गरिन् । “अझै पनि हामीले समलिंगी तेस्रोलिंगीबारे धेरै जानकारी पाएका छैनौं । समलिंगी तेस्रोलिंगी स्वयम खुलेर आफ्नो अधिकारका लागि नलडेसम्म अधिकार प्राप्तीको अभियान सफल हुँदैन,” उनले भनिन्, “हामी पनि खुलेर नआएको भए अहिले भइरहेका उपलब्धीहरु प्राप्त हुने थिएनन् ।”
राज्यका नजरमा सबै नागरिक समान रहेको भन्दै सुनिताले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई महिला पुरुषसरह अधिकार प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.