‘दुई रुपको जिन्दगी जिउन बाध्य छन् तेस्रोलिंगी’

‘दुई रुपको जिन्दगी जिउन बाध्य छन् तेस्रोलिंगी’

काठमाडौं (पहिचान) कार्तिक ५ – चलचित्रकर्मी रविन्द्र सिंह बानियाले तेस्रोलिंगीले दुई रुपका जिन्दगी विताइरहनु परेको बताएका छन् । समाजले आफ्नो अस्तित्व स्वीकार नगरेका कारण तेस्रोलिंगीले दिन र रातमा फरक फरक रुपमा जिउनु परेको बताएका छन् ।
“तेस्रोलिंगीलाई समाजले स्वीकार नगरेका कारण दिउसो एउटा र राति अर्कै रुप धारण गरेर हिड्नु परिरहेको छ,” बानियाले भने,“दिउसो पुरुष भएर हिड्ने तेस्रोलिंगी राती मनको चाहना अनुसार महिलाको भेषमा हिड्छन् । यो समाजले स्वीकार नगर्दाको परिणाम हो ।”
समलिंगी तेस्रोलिंगी पनि मानव नै भएको भन्दै उनले भने, “पहिला हामी मानव हौं । मानव भित्र समलिंगी तेस्रोलिंगी हुन्छन् । सबैले सबैको अस्तित्व स्वीकार गर्नुपर्छ ।”
“म कलाकारको हिसावले नयाँ स्टोरी खोज्दै थिएँ । यसैक्रममा समलिंगी तेस्रोलिंगीले दिउसो एउटा र राती अर्कै रुप धारण गरेर हिड्नु पर्ने अवस्थालाई देखाउन सकिन्छ भनेर गरेको थिएँ,” आफूले समलिंगी तेस्रोलिंगीलाई पहिले देखि नै चिन्दै आएको भन्दै बानियाले भने,“उहाँहरुसँग नजिक बसेर काम गरेको छु । उहाँहरुका धेरै समस्या छन् ।”
आफ्नो समस्या समाधानका लागि पहिला खुलेर आउन आग्रह गर्दै उनले व्यक्तिलाई हेर्ने दृष्टिकोण उसले गर्ने व्यवाहारले निर्धारण गर्ने बताए ।
“आफूले जस्तो व्यबहार गर्यो र समाजले पनि आफूलाई त्यस्तै व्यबहार गर्छ । समलिंगी तेस्रोलिंगीमा पनि केही कमजोरी होलान् त्यसलाई उनीहले पनि सुधार्नुपर्छ ।”
समलिंगी विवाहलाई मान्यता दिनुपर्ने उनको धारणा छ । “प्रेम भनेको महिला र पुरुषबीच मात्रै हुँदैन,” बानियाले भने, “मन मिल्यो भने महिला महिला र पुरुष पुरुषबीच पनि हुनसक्छ । रहर र सिकोले समलिंगी सम्बन्ध कायम गर्नेलाई मेरो समर्थन छैन तर जन्मैले समलिंगी हुनेहरुलाई वैवाहिक मान्यता दिदाँ केही फरक पर्दैन ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.