“तेस्रोलिंगी महिला माथि हुने हिंसा अन्त्य हुनुपर्छ”

“तेस्रोलिंगी महिला माथि हुने हिंसा अन्त्य हुनुपर्छ”

अम्बिका दाहाल/ललितपुर (पहिचान) मंसिर १० – महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी महिला माथि हुने हिंसा अन्त्य गर्न माग गरेको छ । पहिलो पटक संबैधानिक अधिकार पाएका यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले आफ्नो समूदाय माथि हुने हिंसा अन्त्य गर्न माग गरेको हो । नेपालको नयाँ संविधानको धारा १२ मा लैंगिक पहिचान अनुसार नागरिकता दिने लेखिएको छ भने धारा १८ मा यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै कारण विभेद गर्न नपाइने भनिएको छ । मौलिक हककै रुपमा संविधानको धारा ४२ मा राज्यका हरेक निकायमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समानुपातिक समावेशीका आधारमा प्रतिनिधित्वको अधिकार सुनिश्चित गरिएको छ । त्यसो त संविधानमा समावेशी आयोग गठन गर्ने पनि भनिएको छ । संविधानले पहिचान दिएको यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय संविधान कार्यान्वयन नहुँदा चिन्तित छन् ।
हरेक वर्षको नोभेम्बर २५ लाई संयुक्त राष्ट्र संघको महासभाले महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्रा्ष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । नेपालमा पनि “घर शान्ति नै विश्व शान्तिको आधारः दीगो विकासका लागि लैंगिक हिंसा रहित समाज” भन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ । महिला भन्नाले समलिंगी महिला, तेस्रोलिंगी महिला, अन्तरलिंगी महिला पनि पर्दछन् । एकातर्फ महिला हुनु र अर्कोतर्फ समलिंगी तेस्रोलिंगी महिला हुनुमा दोहोरो विभेद, दुरव्यवहार र हिंसा भोग्नु परिरहेको एचआइभी संक्रमित महिलाहरुको महासंघकी अध्यक्ष मथुरा कुँवरले बताएकी छन् । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा कुँवरले समलिंगी तेस्रोलिंगी र एचआइभी सङ्क्रमितका समस्या साझा भएकैले यो समुदायसँग सहकार्य गर्दै आएको बताइन ।
‘अल्पसंख्यक समुदायका आफनै पीडा छन, समलिंगी तेस्रोलिंगी भन्ने बितिकै ठाउँ अनुसार फरक फरक ढंगले विभेदपूर्ण नामले सम्बोधन गरिन्छ’ कुँवरले भनिन्, ‘एक त महिला त्यस माथी तेस्रोलिंगी अनि एचआइभी संक्रमित हँुदा विभेद कति खेप्नु परेको होला ?’ उनले समलिंगी तेस्रोलिंगीलाई विभेद र फरक व्यबहार गर्नु उपयुक्त नहुने बताइन् । उनले समाजिक मान्यताका कारण घरभित्र नै महिला र तेस्रोलिंगीले विभेद सहनुपरेको बताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.