सुदुरपश्मिाञ्चलमा ६ हजार बढी समलिंगी तेस्रोलिंगी

सुदुरपश्मिाञ्चलमा ६ हजार बढी समलिंगी तेस्रोलिंगी

कैलाली (पहिचान) मंसिर १९ – सुदुरपश्चिमाञ्चलमा ६ हजार भन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको सुदुरपश्चिम समाजले जनाएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आधिकारको क्षेत्रमा काम गर्दै आएको समाजले सुदुरपश्चिमका ९ जिल्लामा ६ हजारभन्दा बढी समलिंगी तेस्रोलिंगी रहेको बताएको हो ।
धनगढीमा नील हिरा समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका क्षेत्रीय कार्यक्रम संयोजक राजु लामाले सुदुरपश्चिमाञ्चलमा ६ हजार भन्दा बढी र धनगढी क्षेत्रमा १६ सय समलिंगी तेस्रोलिंगी रहेको जानकारी दिए । लामाका अनुसार कैलालीमा ४ हजार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय छन् ।
सुदुरपश्चिमबाट अहिलेसम्म एक जना तेस्रोलिंगीले मात्रै नागरिकता र राहदानी लिएका छन् । तेस्रोलिंगी मोनिका शाहीले करिब एक वर्ष पहिले पहिलोपटक नागरिकता र राहदानी लिएकी थिइन् । लामाले अहिले एक जना तेस्रोलिंगी नागरिकता लिने प्रक्रियामा रहेको जानकारी लिए ।
विगत एक वर्षमा सुदुरपश्चिममा ६ जना यौनिक तथा लैंगिक अल्पसंख्यक माथि मानवअधिकारको घटना घटेको तेस्रोलिंगी अधिकारकर्मी राज चौधरीले जानकारी दिए ।
नील हिरा समाजका क्षेत्रिय कार्यक्रम संयोजक लामाका अनुसार गतवर्ष सुदुरपश्चिम समाजलाई जिल्ला विकास समिति कैलालीले डेढ लाख बजेट उपल्बध गराएको थियो । यस्तै समलिंगी तेस्रोलिंगीकै अधिकारको क्षेत्रमा काम गर्ने अर्को संस्था एकता नेपाललाई जिविसले ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
पत्रकार सम्मेलनमा समलिंगी तेस्रोलिंगीले समलिंगी विवाहाले मान्यता पाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले पहिलोपटक संविधानले समलिंगी तेस्रोलिंगीलाई संबोधन गरेको भन्दै संविधान अनुसार कानुन बन्नु पर्ने वताए । समलिंगी विवाहलाई मान्यता नदिदा आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.