समलिंगी दम्पतीलाई भिसा दिने निर्णय

समलिंगी दम्पतीलाई भिसा दिने निर्णय

काठमाडौं/पुष १५ – कञ्चनपुर महेन्द्रनगरकी सुमन पन्त अमेरिकामा उच्च शिक्षा हासिल गरेर स्वदेश फर्कंदा आफ्नो नाम अगाडि डाक्टर मात्र थपिनन् । उनले समाजमा आफ्नो परिचय पनि फेरिदिइन् । उनले अर्की महिला लेस्ली मेल्निकसँग क्यालिफोर्नियामा विवाह गरिन् र ती संगिनी लिएर आइन् । पब्लिक पोलिसीमा विद्यावारिधि गरेकी सुमनले विवाह गरेको एक वर्ष भइसकेको छ । 

sumanउनी बिहीबार आफ्नी संगीसँगै सम्पूर्ण कागजात लिएर अध्यागमनमा पुगेकी थिइन् । पर्यटक भिसामा आएकी लेस्लीलाई ‘डिपेन्डेन्ट’ भिसा दिलाएर आफूसँग यतै राख्नै उनको योजना छ ।
तर, भिसा आवेदन दिनेबित्तिकै अध्यागमनका कर्मचारीमा के गर्ने भन्ने अन्योल छायो । उनीहरूसँग विवाह दर्तासहित सम्पूर्ण प्रमाण छ । तैपनि अध्यागमनमा महानिर्देशक केदार न्यौपाने, निर्देशक वासु घिमिरे र भिसा अधिकृतहरूलगायतले बैठक नै बसेर के गर्ने भन्नेमा छलफल गरे । कागजातअनुसार भिसा दिनुपर्छ तर कुन तवरले दिने भन्नेमा उनीहरूलाई गाह्रै पर्‍यो ।

श्रीमान् र श्रीमती भन्ने कुन महलमा कसले हस्ताक्षर गर्नेदेखि धेरै विषयमा छलफल भएपछि जुनमा जसले गरे पनि हुने भन्दै विभागले भिसा दिने निर्णय भएको छ । ‘अध्यागमन विभागमा दैनिकजसो अनौठा विषय र विविध समस्याहरू आउँछन् । कहिलेकाहीँ व्यावहारिक निर्णय गरेर पठाइन्छ । कहिलेकाहीँ त निर्णय लिन नै समस्या हुन्छ,’ न्यौपानेले भने ।

सुमनले परिवारको सहमतिमै विवाह गरेको बताइन् । ‘म खुसी छु । म पुरुषप्रति आकर्षित नै भइनँ । त्यसैले यस्तो निर्णय लिएँ । अबको जीवन हामी दुवैले नेपालमा बिताउने योजना छ,’ अध्यागमनमा भेटिएकी उनले भनिन्, ‘मैले भिसा पाउनुपर्छ ।’ उनीहरू दुवै भक्तपुरको गोठाटारमा बस्छन् । लेस्ली पनि कृषि विज्ञानमा स्नातक हुन् । क्यानडेली र अमेरिकी नागरिकता रहेकी उनले सुमन आफूलाई निकै मन परेको र दुवैले एकैचोटि प्रस्ताव गरेर विवाह गरेको सुनाइन् ।

नेपालमा तेस्रोलिंगीलाई मान्यता दिइसकेको र राहदानीमा समेत उल्लेख गर्ने गरिएको भए पनि समान विवाहको विषयमा निर्णय भएको छैन ।

साभार : कान्तिपुर दैनिक

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.