‘समलिंगी तेस्रोलिंगी एलियन हैनन्’

‘समलिंगी तेस्रोलिंगी एलियन हैनन्’

काठमाडौं (पहिचान) पुष १६ – सञ्चारकर्मी तथा गायिका सुष्मा राईले समलिंगी तेस्रोलिंगीलाई राज्यले नै पछि पार्नु दुःखद् भएको बताएकी छन् । सार्वजनिक कार्यक्रमहरुमा सबै नागरिक समान रहेको बताए पनि व्यवहारमा भने कार्यान्वयन राज्यले नै नगरेको उनको भनाइ छ ।
“राज्यका उच्च अधिकारी नै बोल्ने बेलामा सबै नागरिक समान रहेको बताउँनुहुन्छ तर व्यवहारमा उतार्ने बेलामा उहाँहरु नै पछि हट्नु हुन्छ,” राईले भनिन्,“राजनीतिक दलका नेताहरु पनि त्यस्तै हुन् जनताका अगाडि प्रतिबद्धता जनाउने तर लागू नगर्ने प्रवृति छ यही कारण समतामुलक समाज निर्माण हुन नसककेको हो ।”
समलिंगी तेस्रोलिंगीलाई अर्को ग्रहबाट आएको एलियन जस्तो व्यवहार हुने गरेको प्रति उनले आपत्ति जनाउँदै भनिन्,“म सानो छँदा उहाँहरुलाई हेर्ने मेरो दृष्टिकोण नकारात्मक थियो । तर मैले बुझ्दै जाँदा उहाँहरुलाई विभेद गर्नु नहुने रहेछ भन्ने बुझेँ । मलाइ लाग्छ अहिलेको जेनेरेशनलाई समलिंगी तेस्रोलिंगीलाई स्वीकार्न समस्या छैन ।”
आदिबासी, जनजाति, महिला, दलित लगायतलाई सरकारले आरक्षणको सुविधा दिए पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नदिनु राज्यको दोष भएको राइले बताइन् । “हुन त म आरक्षणको बिरोधी हुँ तर यदि अरुलाई दिइन्छ भने समलिंगी तेस्रोलिंगीले पनि पाउनुपर्छ ।”
समलिंगी तेस्रोलिंगीका विषयमा गीतहरु त्यती धेरै नबनेको भन्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन थालेपछि उनीहरुका विषय पनि गीतमा समावेश हुने गायिका राईको विश्वास छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.