सरकारी जागिरका लागि ६ सय ५१ जना यौनिक अल्पसंख्यकको आवेदन

सरकारी जागिरका लागि ६ सय ५१ जना यौनिक अल्पसंख्यकको आवेदन

काठमाडौं (पहिचान) माघ २ – सरकारी जागिरका लागि ६ सय ५१ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले लोक सेवा आयोगमा आवेदन दिएका छन् । खरिदार, नायव शुब्बा र शाखा अधिकृतका लागि आयोगले आव्हान गरेको दरखास्त फारम भर्ने ५ लाख ९५ हजार ३१ जना मध्ये ६ सय ५१ जना यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्य रहेका हुन् ।

उनीहरुले दरखास्त फारममा आफ्नो पहिचान महिला, पुरुष भन्दा फरक अन्य उल्लेख गरेका आयोगकी सहायक प्रवक्ता गीता हुँमागाईले पहिचान अनलाइनलाई जानकारी दिइन । अनलाइन मार्फत आवेदन दिने ५ लाख ९५ हजार ३१ जना मध्ये ६ सय ५१ जनाले लिंगको महलमा अन्य उल्लेख गरेर फारम बुझाएका छन् हुँमागाईले भनिन्, ति मध्ये कति उत्र्तिण भए भएनन त्यो जानकारी भने छैन ।

गत बर्ष फारम भरेका मध्ये शाखा अधिकृतको मात्रै परिक्षाफल प्रकाशित भएको छ उनले भनिन्, खरिदार र शुव्वाको प्रक्रियामै छ । शाखा अधिकृत पदमा अन्य उल्लेख गरेर आवेदन दिने मध्ये कति उत्र्तिण भए भनेर तथ्याङक नराखिएको उनले वताइन । शाखा अधिकृत उत्र्तिण गरेकाहरु अहिले स्टाफ कलेजको प्रशिक्षणमा सहभागी छन् ।Aayog

लोक सेवा आयोगले अनलाइन फारममा महिला, पुरुष र अन्य उल्लेख गरेकाले पहिलो पटक ६ सय ५१ जना समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीले सरकारी जागिरका लागि आवेदन दिएको खुलेको हो । लोक सेवा आयोगको पुरानो फारममा लिंगको महलमा अन्य उल्लेख गरिएको थिएन । अन्य उल्लेख भएको फारम नहुँदा सुदुरपश्चिमबाट तेस्रोलिंगी मनिला न्यौपाने र भक्तपुरबाट ज्योती थापा लोक सेवा आयोगमा आवेदन दिनबाट बञ्चित भएका थिए ।

संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार लेखिएपछि सरकारी जागिरका लागि आवेदन बुझ्ने लोक सेवा आयोगले अनलाइन फारममा महिला, पुरुष र अन्य मध्ये एउटामा क्लिक गर्न सक्ने व्यवस्था गरेको हो । आयोगका प्रवक्ता लक्ष्मी विलास कोइरालाले महिला, पुरुष र तेस्रोलिंगी सबैलाई समान व्यवहार गरिएको वताए ।

पहिचान अनलाइनसँगको कुराकानीमा कोइरालाले सरकारी जागिर सुरक्षित हुने भएर धेरैको आकर्षण रहेको लोक सेवामा रहेको वताए । क्षमता भएका जो कोही नेपाली नागरिक आयोगको परिक्षामा सहभागी हुन पाउँछन् कोइरालाले भने, क्षमता भएका तेस्रोलिंगीलाई आयोगले अरु महिला पुरुष सरहनै व्यवहार गरिरहेको छ । अन्य उल्लेख गरेर आवेदन दिने त धेरै भएछन नि भन्ने प्रश्नमा कोइरालाले भने, धेरै थोरै भन्ने संख्यामा नजाउँ, महिला पुरुष तेस्रोलिंगी सबै समान हुन् कसैले झुम्किएर अन्यमा क्लिक गरेका भए त आयोगमा भन्न आउँथे तर, अहिलेसम्म लिंग सच्याउनु पर्छ भनेर आएका छैनन । सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीलाई लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता र राहदानी वितरण गरिरहेको छ ।

लोक सेवा आयोगमा लिंगको महलमा अन्य उल्लेख गरेर आवेदन लिने व्यवस्थाको नील हिरा समाजले स्वागत गरेको छ । समाजकी अध्यक्ष पिंकी गुरुङले अन्य उल्लेख गरेर आवेदन लिने आयोगको व्यवस्था राम्रो भएको वताइन । तर, यसको उपयोग वास्तविक समुदायमा पुग्छ कि पुग्दैन भनेर छानविन हुनु पर्ने उनको माग छ । समुदायको नाममा गैर समुदायले फाइदा लिने अवस्था आउनु राम्रो होइन अध्यक्ष गुरुङले भनिन, अन्य उल्लेख भएको नागरिकता पेश गरेर आवेदन दिएका हुन या होइनन प्रष्ट हुनु पर्छ । उनले समुदायका सदस्यलाई अवसर दिनु पर्नेमा जोड दिइन । विभेदका कारण पहिचान भन्न सकिरहेका हुँदैनन्, उनले भनिन् आरक्षणको व्यवस्था गरेर प्रतिष्पर्धा गर्न सक्ने वातावरण तयार गरिदिनुपर्छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.