सबैभन्दा ठूलो कुरा पहिचान हो : पूर्व सभासद केसी

सबैभन्दा ठूलो कुरा पहिचान हो : पूर्व सभासद केसी

अम्बिका दाहाल/ललितपुर (पहिचान) माघ ५ – पूर्व सभासद विमला केसीले संविधानमा उल्लेख भएको अधिकार कानुनमा परिणत गरेर यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अधिकार सम्पन्न गर्नुपर्ने बताएकी छन् । “नयाँ संविधानले सबैका अधिकार सुनिश्चित गरेको छ । समलिंगी तेस्रोलिंगीका अधिकार पनि संविधानमा लेखिएको छ,” पूर्वसभासद केसीले भनिन्, “अब संविधानमा उल्लेख भएको अधिकारलाई कानुनमा परिणत गरेर अहिलेसम्म अधिकार नपाएका समलिंगी तेस्रोलिंगीलाई पनि अधिकार सम्पन्न गराउनुपर्छ ।”
अझै पनि दुरदराजका गाउँमा समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण राम्रो नरहेको भन्दै उनले भनिन्,“मलाई पनि गाउँमा हुँदा थाहा नै नभएको त हैन । तर, सभासद भएपछि अझै धेरै जानकारी भयो । यो समुदायबारे सबैले जानकारी लिनुपर्छ ।”
सबै नागरिक राज्यका लागि समान हुनुपर्ने भन्दै केसीले समलिंगी तेस्रोलिंगी भएकै कारण अधिकारबाट बञ्चित गर्नु नहुनेमा जोड दिइन् ।  “सबै एकै ठाउँमा नउभिएसम्म र एकताबद्ध नभएसम्म कसैको अधिकार पनि सुरक्षित हुँदैन उनले भनिन्,” तपाइँहरु आफ्नो अधिकार सुरक्षित हुने कानुन निर्माणका लागि संगठित हुनुस्, हामी पनि सँगै छौं । संगठित भएर अगाडी नबढेसम्म यो पितृसत्तामक समाजमा अधिकार कसैले दिँदैन ।”
पूर्वसभासद केसीले अधिकार सम्पन्न हुनका लागि आफै संघर्ष गर्न पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सुझाव दिइन् । उनले सबैभन्दा ठूलो कुरा पहिचान भएको बताइन् । “राज्यले पहिचान दिनुपर्छ । नागरिकता लिन पनि उहाँहरुलाई समस्या छ भनेको सुनेको छु । नागरिकता नभए त सिमकार्ड लिन पनि पाइँदैन ।”
रहरले कोही समलिंगी तेस्रोलिंगी नहुने भन्दै उनले सबै समान भएको बताइन् । “समलिंगी तेस्रोलिंगी भएकै कारण विभेद गर्नु हुँदैन, रहरले कोही समलिंगी तेस्रोलिंगी र अपांग भएको होइन । राज्यका नजरमा सबै समान हुन् । सबैलाई समान व्यबहार गर्नुपर्छ ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.