तेस्रोलिंगीका गीत गाउन तयार छुः राउत

तेस्रोलिंगीका गीत गाउन तयार छुः राउत

काठमाडौं (पहिचान) माघ ८ – गायिका आस्था राउतले समतामुलक समाज निर्माणका लागि सबैले समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्नु पर्नेमा जोड दिएकी छन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि आवश्यक परे गीत गाउन तयार रहेको समेत वताइन ।
राउतले भनिन्, “म सबैलाई समान नजर हेर्ने मान्छे । म अधिकार र चेतनाका लागि गीत गाउने मान्छे हुँ मेरो स्वरलाई सुट हुने शब्द ल्याउनुहोस म विना पारिश्रमिक गाउन तयार छु ।”
आफूले समलिंगी तेस्रोलिंगीलाई कहिल्यै पनि विभेद नगरेको भन्दै उनले आफ्नो समलिंगी तेस्रोलिंगी साथी रहको बताइन् । उनले भनिन्, “म अधिकार र चेतनाका गीत गाउन रुचाउने मान्छे कसैलाई फरक नजरले हेर्ने कुरै भएन । मेरो समलिंगी तेस्रोलिंगी साथीहरु छन् । विशेषगरी यस्ता फरेनर साथीहरु धेरै छन् ।”
उनले समलिंगी विवाहलाई मान्यता दिनु पर्ने बताइन । आफूले इच्छाएको व्यक्तिसँग बस्न पाउनु व्यक्तिको अधिकार भएको उनको भनाइ छ । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै गायिका राउतले समलिंगी विवाहलाई राज्यले कानुनी मान्यता दिनुपर्नेमा जोड दिइन् ।
“विवाह सन्तान जन्माउनका लागि मात्रै होइन । यो दुई आत्माको मिलन हो”, गायिका राउतले भनिन्, “बच्चा जन्माउन योग्यहरुले पनि विवाह गरेर बच्चा नजन्माएका पनि छन् । त्यसैले समलिंगी विवाहलाई राज्यले मान्यता दिनुपर्छ ।”
विपरितलिंगी र समलिंगी तेस्रोलिंगीबीच कुनै फरक नरहेको भन्दै उनले सबै मानव समान भएको बताइन् । फरक पहिचान भएकै कारण यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद हुनु सभ्य समाजको परिचय नभएको भन्दै गायिका राउतले समाज बिस्तारै परिवर्तन हुनु पर्नेमा जोड दिइन् ।
नयाँ संविधानले सुरक्षित गरेको यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार कार्यान्वयनमा आउनु पर्नेमा गायिका राउतको जोड छ । यसका लागि सबैले सहयोग गर्नु पर्ने उनको भनाई छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.