यौनिक अल्पसंख्यकबारे चलचित्र बनाउँदै नरेश केसी

यौनिक अल्पसंख्यकबारे चलचित्र बनाउँदै नरेश केसी

काठमाडौं (पहिचान) माघ २४ -चलचित्र निर्देशक नरेश केसीले समलिंगी तेस्रोलिंगीको विषयमा केन्द्रित रहेर चलचित्र बनाउने भएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा मात्रै केन्द्रित भएर उनले चलचित्र बनाउन लागेका हुन् ।
यसअघि यौनिक अल्पसंख्यकका विषयमा केन्द्रित भएर सुनगाभा नामक चलचित्र निर्माण भएको थियो । उक्त चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा पनि पुगेको थियो ।
“मैले अमेरिकामा बसेर पढिरहेका बेला नै यौनिक अल्पसंख्यकका विषयमा चलचित्र निर्माण गर्न स्क्रिप्ट तयार गरेको थिएँ,” चलचित्र डाइङ क्यान्डलका निर्देशक केसीले भने, “अहिले यो स्क्रिप्टका लागि फन्ड पनि आइसकेको छ । अब चाँडै चलचित्र निर्माणको तयारीमा छु ।”
समाजमा लुकेर बसेका मौलिक विषयमा आफ्ना चलचित्रको मुख्य विषय हुने भन्दै उनले समलिंगी तेस्रोलिंगीको विषय पनि नेपालका लागि मौलिक विषय हुने बताए ।
अहिलेसम्म चलचित्रमा समलिंगी सम्बन्ध र तेस्रोलिंगीलाई प्यारोडिका रुपमा मात्रै प्रस्तुत गरिएको उनको भनाइ छ । “नेपाल मात्रै होइन मेन स्ट्रिमका भारतीय चलचित्रमा पनि तेस्रोलिंगीलाई प्यारोडिका रुपमा प्रस्तुत गरेको देखेको छु,” केसीले भने, “जबसम्म यो विषयमा राम्रो र सकारात्मक बुझाई हुँदैन तबसम्म यो प्रचलनको अन्त्य नहुनपनि सक्छ ।”
कसैको इमोशनसँग खेल्न कसैलाई पनि अधिकार नभएको भन्दै केसीले समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा चित्रण गर्न नहुनेमा जोड दिए ।
समलिंगी सम्बन्धलाई मान्यता दिँदा असर नगर्ने पनि उनले बताए । सबै नागरिक समान रहेको भन्दै उनले महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीको पनि अधिकार भएको बताए । नरेश केसी निर्देशित चलचित्र डाइङ क्यान्डल यही माघ २८ गतेबाट अल नेपाल रिलिज हुँदैछ । दिदी र भाइको आत्मिय सम्बन्ध चलचित्र डाइङ क्यान्डलको लगलाइन भएको निर्देशक केसीले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.