‘हिजडाको लाशलाई देखेर मान्छे हाँस्छन् भन्ने पिर थियो उसलाई….’

‘हिजडाको लाशलाई देखेर मान्छे हाँस्छन् भन्ने पिर थियो उसलाई….’

काठमाडौं (पहिचान) फागुन २५ – बरिष्ठ निर्देशक तुलसी घिमिरेले तेस्रोलिंगी विपरितलिंगी महिला पुरुष भन्दा सक्षम हुने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै निर्देशक घिमिरेले समलिंगी तेस्रोलिंगीलाई आफूले मुम्बई हुँदा देखिनै चिनेको भन्दै उनीहरु महिला पुरुषभन्दा बढी सक्षम हुने बताए ।
मुम्बइमा चलचित्रमा काम गर्दा आफ्नो साथी तेस्रोलिंगी रहेको उनले स्मरण गर्दै भने, ‘मसँगै असाध्यै मिल्ने साथी थियो रहमान । उ निकै मेहनती र विलक्षण क्षमताको थियो । पछि थाहा भयो । उ तेस्रोलिंगी रहेछ । तर, उसले आफू तेस्रोलिंगी भएको पहिला भने मलाई भनेको थिएन । त्यही समयदेखी हो मलाई तेस्रोलिंगी हामी भन्दा ट्यालेण्ट हुन्छन् भन्ने लागेको ।’
लामो समय मुम्बई बसेर चलचित्र निर्देशन लगायतका काम गरेका उनले आफ्ना सबैभन्दा मिल्ने साथि समलिंगी तेस्रोलिंगी रहेको बताए । ‘मुम्बई बस्दा एक जना साथीसँग दिनहु भेट हुन्थ्यो । ऊ सँधै जोक मजाक गर्ने, रमाइलो गर्ने गथ्र्यो । उसको त्यस्तो बानी देखेर मैले एक दिन उसलाई साधें—तिमी किन यसरी सँधै मजाक मात्रै गर्छौ । उसले भन्यो हामी त मजाक गर्नका लागि जन्मिएका हौं । हामी त मरेर घाट लैजाँदा पनि मान्छे हाँस्छन् ।’ घिमिरेले सम्झिए ।
निर्देशक घिमिले भने, ‘उ हिजडा रहेछ । उसले यति मार्मिक कुरा गर्यो, उसले घाटमा लाश लैजाँदा पनि हिजडाको लाश भनेर मान्छे हाँस्छन् भनेर आफूले पहिचान नखुलाएको बतायो । त्यसदिन देखी उ म सँगै संधै गम्भीर कुरा गथ्र्यो । हामी यो समुदायको अधिकारका विषयमा र समाजले हेर्ने दृष्टिकोणका विषयमा कुरा गथ्र्यौ ।’
निर्देशक घिमिरेले नेपालमा भन्दा भारतमा समलिंगी तेस्रोलिंगीलाई अलि सहज वाताबरण रहेको बताए । आफ्नो पहिचान खुलाएर अधिकार प्राप्तिका लागि संघर्ष नगरेसम्म हक नपाइने उनको भनाई छ । बिस्तारै नेपालमा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन थालेको उनको भनाई छ ।
कतिपय चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने गरिएको र त्यो गलत प्रवृत्ति भएको उनले बताए । सबै नागरिक समान भएकाले राज्य तथा समाजले समान व्यवहार गर्नुपर्ने उनको बुझाई छ । नयाँ संविधानले पहिलोपटक सुरक्षित गरेको अधिकार कार्यान्वयन गर्नु पर्नेमा घिमिरेले जोड दिए ।
दर्पण छायाँ, लाहुरे, बाँसुरी, गहना, गुरु दक्षिणा जस्ता लोकप्रिय २१ वटा चलचित्रको छायाँकन गरिसकेका घिमिरेको दर्पण छायाँ दुई यही शुक्रबारबाट रिलिज हुँदैछ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.