अन्तराष्ट्रिय फिल्म महोत्सव सुरु, समलिंगी सम्बन्धबारेको चलचित्र भोली प्रदर्शन हुने

अन्तराष्ट्रिय फिल्म महोत्सव सुरु, समलिंगी सम्बन्धबारेको चलचित्र भोली प्रदर्शन हुने

काठमाडौं (पहिचान) चैत्र ३ – मानव अधिकार अन्तराष्ट्रिय फिल्म महोत्सवमा पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयलाई समेटेर बनाइएको चलचित्र प्रदर्शन हुने भएको छ । ‘म हैन म’ नामक ८० मिनेट लामो चलचित्र भोली शुक्रबार दिउसो १२ बजे प्रदर्शन हुनेछ । नील हिरा समाजको लगानीमा समलिंगी सम्बन्धलाई मुख्य कथा बनाइएको चलचित्र ‘म हैन म’ लाई इलम दिक्षितले निर्देशन गरेका हुन् ।

नेपालमा फिल्म महोत्सवमा समलिंगी तेस्रोलिंगीको विषयलाई समावेश गरेर नेपाली चलचित्र देखाउन लागेको यो पहिलो पटक हो । यसअघी किम्फ फिम्म फेस्विलमा यो विषयको चलचित्रलाई समेटिए पनि त्यो नेपाली भने थिएन । यो महोत्सवमा समलिंगी सम्बन्ध उल्लेख भएको चलचित्र देखाइनुलाई महत्वका साथ हेरिएको छ ।

देवकी विष्ट निर्देशित बृत्त चलचित्र ‘इन सर्च अफ देउकी’ को प्रदर्शन गर्दै काठमाडौंमा आजबाट फिल्म महोत्सव सुरु भएको हो । ‘मेरो पनि अधिकार छ’ भन्ने नारा सहित सुरु भएको फिल्म महोत्सवमा ३८ देशका १०१ वटा चलचित्र प्रदर्शन गरिने छ । महोत्सवमा नेपालका ११ वटा चलचित्र देखाइने महोत्सवका अध्यक्ष अरुणदेव जोशीले यसअघि नै बताइसकेका छन् ।

महोत्सवका लागि मानवअधिकारसँग सम्बन्धित चलचित्र मात्रै छनोट भएका छन् । २ हजार फिल्मबाट १०१ वटा चलचित्र छानिएको हो । महोत्सवमा जुरी मेम्बरका रुपमा नेपालबाट निर्देशक तुलसी घिमिरेसँगै भारतबाट निर्देशक गिरीश कसावली, बंगलादेशका फिल्म समीक्षक अहमद मुस्तफा जमाल र नेदरल्यान्डका निर्देशक क्लेमेन्टाइन एडरभन रहेका छन् ।

महोत्सव उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले समाजमा चेतना विस्तारका लागि चलचित्र सबैभन्दा महत्वपूर्ण साधन भएको बताए । “समाज परिवर्तनका लागि चलचित्र राम्रो साधन हो,” उनले भने “दिमागमा बसेको तस्विरले मान्छेलाई तत्काल र सकारात्मक छाप बाँचुन्जेल पार्छ ।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.