“म हैन म” को बाह्रखरी समिक्षा : भर्जिन कथा, कमजोर पटकथा

“म हैन म” को बाह्रखरी समिक्षा : भर्जिन कथा, कमजोर पटकथा

चलचित्र ‘म होइन म’ ले नयाँ विषय उठाएको छ । इलम दीक्षित निर्देशित चलचित्र ८० मिनेट लामो छ । पहिलो पटक नेपालमा समलिंगी सम्बन्धलाई लिएर बनेको चलचित्रमा अधिकांश नयाँ अनुहार छन् । त्यसैले अभिनय औसतभन्दा माथि छैन । प्राविधिक पक्ष फितलो देखिन्छ । दर्शकलाई डकुमेन्ट्री हेर्दैछु अथवा फिक्सन फिल्म भन्ने ‘कन्फ्युजन’ हुन्छ ।

समलिंगी सम्बन्धलाई उठाइए पनि समलिंगी सम्बन्ध कस्तो हो, कानुनी पक्ष नेपालमा कस्तो छ भन्नेजस्ता कुराहरू पटकथाका माध्यमबाट देखाउन सकिने प्रशस्तै ठाउँहरू हुँदाहुँदै पनि चलचित्र यसमा चिप्लिएको छ ।

चलचित्र हेरिसकेपछि समलिंगी सम्बन्धलाई समाजले स्वीकार्नुपर्ने रहेछ भन्ने सन्देश दर्शकमा परे पनि के कारणले समाजले आत्मसात गर्नुपर्ने हो भन्ने स्पष्ट हुँदैन । चलचित्र ‘म होइन म’को सबल पक्ष भन्नु नै ‘भर्जिन’ विषय उठान गर्नु हो, बाँकी चलचित्रका अधिकांश पक्ष फितला छन् ।

काठमाडौंको एउटा समृद्ध परिवारको एउटा सदस्य अभिषेकको समलैंगिक यौनचरित्रका कारण ऊसँगै अनेक पात्रको संघर्षमा आधारित छ यो चलचित्र । अभिषेकको समलैंगिक व्यवहारलाई गुपचुप राख्न परिवारले गाउँकी सोझी केटी सिर्जनासँग विवाह गरिदिए पनि पहिलो रातबाटै सम्बन्धमा चिसोपन आउँछ । त्यो सम्बन्धको उतारचढावसँगै समलैंगिक सम्बन्धका अरु आयाम खुल्दै जान्छन्, पात्र थपिँदै जान्छन् । परिवारको ढाडसबिना यस्तो सम्बन्धलाई समाजले पचाउन सक्दैन भन्ने सन्देश यसले बोक्छ ।

अनेक हण्डरपछि परिवारले अभिषेकको यौनिक चरित्रलाई आत्मसात गर्छ । सिर्जना पनि आफ्नो मन मिल्ने व्यक्तिसँग नजिक हुन्छे । उनीहरू दुवै स्वतन्त्र हुन्छन् ।

यो चलचित्रको मूल खम्बा कथा भए पनि पटकथाको हेलचेक्र्याइँले चिप्लिएको छ । कतिपय घटनाहरू सजीव लाग्दैनन् । समलैंगिकतालाई प्रष्ट्याउन जबर्जस्ती पात्र खडा गरिएको भान हुन्छ । कलेजमा बिक्की र लोप्साङ र अर्को एक जोडी महिला समलिंगी भएको देखाइनुले कथामा कृत्रिमता देखिन्छ ।

संवादमा धेरै मेहनत जरुरी देखिन्छ । कतिपय ठाउँमा तेस्रोलिंगीलाई होच्याएर भनिने शब्द राखिएका छन् । चलचित्र समाजको ऐना भए पनि नाटकीय हुनु यसको मूल चरित्र हो । त्यस्ता शब्द उच्चारणले कुनै समुदायविशेषलाई चोट पुग्न सक्छ भन्ने विषयमा निर्देशकले ध्यान दिएनन् । दिइनुपथ्र्यो ।

समग्रमा चलचित्र वस्तुगत भए पनि यसको प्रस्तुति त्यति जबर्जस्त छैन । समलिंगीको विषय चलचित्रमा नयाँ भएकाले हेरिनु भने पर्छ ।

साभार : http://baahrakhari.com/

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.