समलिंगी सम्बन्ध: ‘म होइन म’

समलिंगी सम्बन्ध: ‘म होइन म’

काठमाडौं (पहिचान) चैत्र ८ – काठमाडौंमा एक भव्य महल, पार्किङमा गाडी, समाजमा उच्च इज्जत भएको परिवारमा कान्छो छोरोको विवाह हुन्छ । विवाहको रात दुलाहा (अभिषेक र दुलही सिर्जना) को सुहागरातलाई परिवार र उसका साथीहरूले चासोका साथ ढोकाबाट चिहाई चिहाई हेर्छन् । दुलाहा दुलहीको कोठामा राति के भयो अभिषेकको साथी राज, उसकी श्रीमती सीमा र उसकी अर्की साथी मात्रै होइन, उनका बाबुआमा र दाइले पनि जान्न खोज्छन् ।

अभिषेक र सिर्जनाले कोठाबाट बाहिरको गतिविधि थाहा पाइरहेका हुन्छन् । २७ वर्षको हट्टाकट्टा अभिषेक कुर्सीमा बसेको हुन्छ । सिर्जना खाटमा सुतेकी हुन्छे । श्रीमान् ओछ्यानमा आउला भन्ने सोचेकी सिर्जनाको अनुमान फेल खान्छ । अन्ततः ऊ उठ्छे । अभिषेकलाई कुर्सीबाट उठाएर ओछ्यानमा सुताउँछे । माया र वासनाले अभिषेकलाई सुम्सुम्याउन थाल्छे । त्यहीबेला अभिषेक भने उठेर झ्यालबाट बाहिर हेर्छ । विवाहको पार्टीमा भेला भएका आफन्तसहित अभिषेकको परिवारले उसकै कोठातर्फ हेरिरहेको हुन्छ । रिसले चुर भएको अभिषेक श्रीमतीको चाहनालाई लत्याएर भुइँमा सुत्छ । सिर्जनाको मन अमिलो हुन्छ, अनौठो मान्छे ।

बिहान अबेर उठेको अभिषेक क्याजुअल ड्रेसमा घरबाट निस्किन्छ । सिर्जना उसलाई फलो गर्छे । पसलमा अभिषेकलाई देखेर ‘छक्का’ ले पनि बिहे गरेछ भन्दै कुरा काटेको सिर्जनाले सुन्छे । अभिषेक एउटा सामान्य होटलमा छिर्छ । सिर्जना पनि त्यहाँ पस्न खोज्छे तर उसलाई साहुले “हे केटी तिमी यहाँ चाहिएको छैन, आउट’ भन्दै ढोका बन्द गर्छ ।

फर्किर घर आएको अभिषेक नुहाउनलाई बाथरुम र्छिछ । त्यहीबेला उसको मोबाइलमा घन्टी बज्छ । सिर्जनाले मोबाइल रिसिभ गर्छे । केटीको आवाज सुनिन्छ । उसले भन्छे, किन तिमी मेरो कल रिसिभ गर्दैनौं ? राज पनि मेरो कल रिसिभ गर्दैन ।’

‘अभिषेकको विवाह भइसक्यो आइन्दा फोन नगर्नु,” भन्दै सिर्जना फोन काट्छे ।

बाथरुमबाट निस्किएको अभिषेकलाई सिर्जनाले आफू गाउँले केटी भन्दैमा नहेप्न आग्रह गर्दै परिवारले स्वीकारिसके पनि तपाईंले मात्रै स्वीकार्न सक्नुभएको छैन, किन ? म सबै पत्ता लगाउँछु भन्छे । उसले विस्तारै अभिषेकले आफूलाई मन पराउने विश्वास व्यक्त गर्छे ।

गाउँमा प्लस टुसम्म पढेकी सिर्जनालाई उनको परिवारले उच्च शिक्षाका लागि कलेज भर्ना गरिदिन्छन् । ऊ म्यानेजमेन्ट लिएर पढ्न थाल्छे ।

अभिषेक आफूप्रति आकर्षित नभएको देखेर सिर्जनाले उसलाई ‘फलो’ गर्दै पहिलेकै होटलमा पुग्छे । त्यहाँ उसले अनौठो दृश्य देख्छे । केटा–केटा र केटी–केटीको शंकास्पद व्यवहार देख्छे । कोठा चाहर्दै जाँदा उसले अभिषेक र राजबीचको संवाद बाहिरबाटै सुन्छे । अभिषेकसँग राजले जाने बेलामा ‘एक किस’ मागेको सुनेपछि ढोका खोल्दा उसले रंगेहात अभिषेकलाई समाउँछे ।

यस्तो अकल्पनीय दृश्य सिर्जनाले देखेपछि अभिषेक र राज दुवै आत्तिन्छन् । उसलाई सम्झाउन भन्दै अभिषेक सिर्जनाको पछि लाग्छ । त्यही बेला उसले गाली गर्छे, –छक्का, तँ उता जा, घिनलाग्दो, साला पुरुष पनि हैन नामर्द ! भन्दै एक थप्पड हान्छे ।

यति भनेर फर्किएकी सिर्जना घर पुगेर झोला बोकेर सिधै माइत फर्किन्छे । माइत पुग्दा बाहिरबाटै ठूलो आवाजमा टेलिभिजनको आवाज सुनिन्छ । भित्र पस्दा फ्रिज पनि हुन्छ । आमाको नाक, कान, गलामा सुनका गहना हुन्छन् ।

त्यतिबेला बल्ल उनले थाहा पाउँछिन्, आमाले सिर्जनालाई सम्पत्तिसँग साटेकी रहिछन् । सहरमा समलिंगी छोरोलाई कसैले केटी नदिएपछि झुक्याउन सकिने सोझी केटी खोज्दै अभिषेकको परिवार काभ्रेको गाउँ पुगेको रहेछ । आमाले सिर्जनालाई उल्टै सामान्य रोग लागेको भन्दै त्यो उपचार गर्दा निको हुने बताउँछिन् । आमाको यो संवादले सिर्जना आफूलाई आमाले बेचेको निष्कर्ष निकाल्छिन् ।

आमासँग आफ्नो दुःख साट्न माइत पुगेकी सिर्जनाले आमाले आफूलाई पैसासँग साटेको थाहा पाएपछि उनलाई घिन लाग्छ, त्यही बेला आफ्नो छोरोलाई समाजका अगाडि विवाह गरेर मर्द देखाएर इज्जत धानेको सोचिरहेको अभिषेकका बुबा र दाइ सिर्जनालाई लिन गाउँ पुग्छन् । सिर्जना उनीहरूसँगै घर फर्किन्छिन् ।

घर फर्किएपछि पारिवारिक जमघट हुन्छ । जमघटमा अभिषेकका बुवाले अभिषेकको बेइज्जत गर्छन् । उनको समलिंगीपनलाई ‘राक्षस’ भन्दै त्यसलाई निकालेर फाल्न दबाब दिन्छन् । अभिषेकले त्यसरात आफूलाई बाल्यकाल देखि हुँदै आएको सबै विभेद र लान्छनाको घटना सपनामा देख्छ । घरिघरि झस्किरहन्छ । सिर्जनाले पनि उनलाई आफ्नो गलत प्रवृत्ति छाड्न आग्रह गर्छिन् ।

अभिषेक भने आफूले गलत काम नगरेको भन्दै सिर्जनालाई सम्झाउन खोज्छ । आफ्नो जीवनको परीक्षा नजिकै आइरहेको भन्दै सिर्जना आफूले अध्ययन गरिरहेको बताउँछे ।

सिर्जना कलेजमा साथीहरूसँग घुलमिल हुन थाल्छिन् । कविसँग नजिकिन्छिन् । उनीहरू बिस्तारै एकअर्कालाई मन पराउन थाल्छन् । कलेजमा सिर्जनाले सँगै पढ्ने लोप्साङ र बिकी पनि समलिंगी हुन्छन् । तर बिकी र लोप्साङको परिवारले पनि उनीहरूलाई विवाह गरेर बस्न दिइरहेको हुँदैन ।

यही समय सिर्जनालाई उनको ससुराले अभिषेकलाई परिवर्तन गरेर विपरितलिंगी बनाउँदै आफूप्रति आकर्षित बनाउन दबाब दिन्छन् । कविसँगको सम्बन्धबाट पछि हट्न भन्दै गाली गर्छन् ।

कविसँग सिर्जनाको सम्बन्ध थाहा पाएपछि अभिषेक र सिर्जनाबीचको सम्बन्ध एकाएक सहज हुँदै जान्छ । उनीहरू सँगै घुम्न जान थाल्छन् । जिस्किन्छन्, चल्छन् । साथीको जस्तो सम्बन्ध हुन्छ उनीहरूबीचमा । सिर्जना अभिषेकलाई उसको कार्यालयको काममा सहयोग गर्छिन् । सिर्जनाको कविसँगको हुर्किंदो सम्बन्धलाई सहज अवतरणका लागि अभिषेक सहयोग गर्छ । कलेजमा बिकी र लोप्साङ सँगै अर्को एक जोडी महिला पनि समलिंगी भएको सिर्जनाले देख्छिन् । र, अभिषेकको साथी राज पनि समलिंगी भएको थाहा पाएकी सिर्जना पनि अभिषेकलाई बुझ्न थाल्छिन् । खराब आदत भन्दा पनि प्राकृतिकपन रहेको महसुस गर्न थाल्छिन् ।

लोप्साङ र बिकीबीचको सम्बन्ध थाहा पाएपछि बिकीको परिवारले लोप्साङलाई पिट्छ । बिकीलाई हस्पिटल भेट्न जाँदा सिर्जनासँगै अभिषेक पनि जान्छ । बिकीको परिवारले उनको सम्बन्ध रहेको लोप्साङसँग छुटाउन गरेको कुकृत्यलाई देखेर आगो भएको अभिषेक हस्पिटलमा रहेको कविलाई सँगै लिएर घर जान्छ ।

आफैँले आफ्नो बारे परिवारलाई नबुझाए समाजले पनि नबुझ्ने निष्कर्षमा पुगेको अभिषेक भन्छ– तपाईंहरूलाई मलाई देखेर लाज लाज्छ, तर मलाई के लाग्छ तपाईंहरू सुन्न सक्नुहुन्छ ? मलाई मेरो पूरै परिवार देखेर लाज लाग्छ । आमाले मेरो समलिंगी व्यवहारलाई रोग सम्झनु भयो । मलाई बुझ्दै नबुझी यो विवाहको नौटंकी गर्नुभयो…। बुबाले त आजसम्म मेरो अनुहार नै हेर्नु भएको छैन….।

यो असल र समझदार केटीलाई मेरो जिन्दगीमा प्रवेश गराइदिनु भएकोमा तपाईंहरूलाई धन्यवाद ! मलाई घृणा गर्दागर्दै ऊ आज मलाई बुझ्ने भइसकी ।… हामी जस्तो मान्छेलाई यो समाजले निच ठान्छ । तर म चाहन्छु कम्तीमा मेरो परिवारले मलाई यस्तो व्यवहार नगरोस् । मलाई अब यो सबै कुरामा अल्झिनु छैन ।

जब अभिषेकले आफैं खुलेर परिवारलाई आफ्नो बारे कुरा राख्छ, तब उसको परिवारले स्वीकार गर्छ । परिवारले अभिषेकलाई गरेको व्यवहारप्रति पश्चाताप व्यक्त गर्छ । झुक्काएर गरिएको विवाहबाट सिर्जना मुक्त हुन्छे । अन्त्यमा सिर्जना र अभिषेक आ–आफ्नो नयाँ जीवन सुरु गर्न स्वतन्त्र हुन्छन् ।

‘मानव अधिकार अन्तराष्ट्रिय फिल्म महोत्सव–२०१७’ मा शुक्रबार देखाइएको चलचित्र ‘म होइन म’ को कथा हो यो ।
समलिंगी सम्बन्धलाई लिएर बनाइएको चलचित्र ‘म होइन म’ इलम दीक्षितले निर्देशन गरेका हुन् । ८० मिनेट लामो चलचित्रले आफ्नै परिवारले फरक यौनिकता स्वीकार नगरेसम्म समाज र राज्यले स्वीकार गर्दैन भन्ने सन्देश दिने यो चलचित्र नेपालकै पहिलो समलैंगिक सम्बन्धलाई लिएर बनाइएको कथानक चलचित्र हो ।

साभार  : http://www.baahrakhari.com

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.