नील हिरा समाजले देशभर प्रहरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

नील हिरा समाजले देशभर प्रहरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

विपना पनेरु/कास्की (पहिचान) बैशाख ४ -कास्कीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे नेपाल प्रहरीलाई जानकारी दिइएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा प्रहरीका लागि एक दिने अभिमुखीकरण कार्यक्रम पोखरामा आयोजना गरिएको हो ।
समलिंगी तेस्रोलिंगी मैत्री ब्यवहारका लागि आयोजित अभिमुखीकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीसहित मातहतका प्रहरी युनिटबाट पदिक, हवल्लदार र जवान गरी ३० जना सहभागी थिए ।
ग्लोवल फन्डको एमएसए एचआईभी कार्यक्रम र सेभ द चिल्ड्रेनको सहयोगमा नील हिरा समाजले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा बुझाउँदै प्रहरी र समुदायबीच समन्वयपूर्ण वातावरण निर्माण गर्ने प्रयास गरिएको हो ।

नील हिरा समाजका कार्यकारी निर्देशक मनिषा ढकालका अनुसार प्रहरी कर्मचारीको क्षमता अभिबृद्धिका साथै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमैत्री ब्यवहारका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । प्रहरीले यो समुदायका ब्यक्तिहरु प्रति गर्ने ब्यवहार सुधारका लागि पनि अभिमुखीकरण कार्यक्रम सार्थक हुने ढकालको विश्वास छ ।
कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारमा वकालत गर्दै आएकी अधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक अभिमुखीकरण र लैंगिक पहिचानको विषयमा जानकारी गराएकी थिइन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति समाजले हेर्ने दृष्टिकोण र गर्ने ब्यवहार पहिलेको तुलनामा सुधार भएपनि अझै जागरणको खाचो रहेको उनले बताइन् ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका निर्देशक सूर्य बहादुर देउजाले अपराधिकरण, विभेद र दुब्र्यवहार प्रति सजग हुन प्रहरी कर्मचारीलाई आग्रह गरे । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति प्रहरीको ब्यवहार अन्य नागरिक सरहनै हुनुपर्नेमा उनले जोड दिए । आयोगले यो समुदायका अधिकारको विषय अन्तराष्ट्रिय स्तरमा उठान गरिरहेको उनले स्पष्ट पारे ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय प्रमुख शिव खकुरेलले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय प्रति समाज र राज्य अझै पूर्ण रुपमा सकारात्मक हुन नसकिरहेकाले संविधानमा उल्लेख भएका विषयलाई कार्यान्वयनमा ल्याउनुपर्ने खाचो आंैल्याए ।
प्रहरी नायव निरिक्षक थानेश्वर चापागाइले अभिमुखीकरणले प्रहरी कर्मचारीको पेशागत क्षमतामा निखारता ल्याउने काम गरेको बताए । यो समुदाय प्रति प्रहरीले आगामी दिनमा मैत्रीपूर्ण ब्यवहार गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा तेस्रोलिंगी महिला विन्दिया गौतम र तेस्रोलिंगी पुरुष राज क्षेत्रीले पहिलेको तुलनामा घरपरिवार, छरछिमेक र समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुदै आएको बताए । उनीहरुका अनुसार कानुन कार्यान्वयन तहमा रहेका प्रहरी कर्मचारीको पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमैत्री ब्यवहारको भने अझै खाँचो छ । नील हिरा समाजले देशभर प्रहरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.