निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रहरी भन्छ – अधिकार हनन भए आवाज उठाउनुस हामी सहयोग गछौं

प्रहरी भन्छ – अधिकार हनन भए आवाज उठाउनुस हामी सहयोग गछौं

619
SHARES

बिनोद बि.सी./रुपन्देही (पहिचान) बैशाख १५ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले बुटवलमा प्रहरी र मानवअधिकार आयोगका प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् । नील हिरा समाज केन्द्रीय कार्यालयको आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा प्रहरीसँग एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो ।
छलफलमा नील हिरा समाज काठमाडौंबाट समाजकी अध्यक्ष पिंकी गुरुङले हरेक क्षेत्रमा खटिएका प्रहरीहरुले अन्य मानिस सरह समलिंगी, तेस्रोलिंगी समुदायलाई पनि सुरक्षा दिनुपर्ने बताइन् । गुरुङले भनिन्, ‘समलिंगी, तेस्रोलिंगी समुदाय पनि यही देशका नागरिक भएको नाताले उनीहरुलाई पनि शान्ति–सुरक्षा देखि राज्यको हरेक निकायमा समाबेस गर्नु पर्ने हुन्छ ।’

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाईले तेस्रोलिंगीहरुको पहिचान समानता तथा सामाजिक हकमा नेपालको संबिधानले पनि संबोधन गरेको बताए । ‘नेपालको संविधानको धारा १२, १८ र ४२ मा यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर समलिंगी तेस्रोलिंगीको अधिकार उल्लेख गरिसकेको अवस्था छ,’ चापागाइले भने, ‘त्यसैले सुरक्षाकर्मी लगायत आम नागरिकले उनीहरुको पहिचानलाई सहजै स्वीकार्नु पर्छ र समलिंगी तेस्रोलिंगीको अधिकारमा कसैले हस्तक्षेप गर्न पाउँदैन ।’

कार्यक्रममा प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले समलिंगी तेस्रोलिंगी समुदायलाई अधिकारको उपभोग गर्ने अधिकार रहेको बताए । ‘आफुले पाएको अधिकारलाई सही ढंगले उपभोग गर्ने र आफ्नो पहिचानसहित समाजमा स्थापित हुने हक रहेको छ,’ उपरीक्षक मरासिनीले भने, ‘आफ्नो अधिकार हनन् भएको खण्डमा सम्बन्धित निकायमा आवाज उठाउन म यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आग्रह गर्छु ।’ उनले कुनै पनि अधिकार उपभोग गर्दा अरुको अधिकार हनन गर्न नपाइने र जात, धर्म, वर्ण र लिंगको आधारमा कसैले कसैलाई भेदभाव गर्न नपाइने बताए । मरासिनीले यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि हिंसा र भेदभाव गरेको थाहा पाएमा कानून अनुसार कारवाही गर्ने प्रतिबद्धता जानाए ।
नील हिरा समाजले बुटवल लगायत देशका बिभिन्न जिल्लामा सरोकारवालाहरुसँग अन्तरिक्रया कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अघि समाजले कास्कीमा प्रहरी र मानवअधिकार आयोगसँग छलफल गरेको थियो ।

समाचार शेयर गर्नुहोस्
619
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.