मेयरमा तेस्रोलिंगीलाई अवसर

मेयरमा तेस्रोलिंगीलाई अवसर

नवलपरासी (पहिचान) जेठ १८ – तराई मधेस फोरमले जिल्लाको रामग्राम नगरपालिकामा तेस्रो लिंगी गीता सैंथवारलाई मेयर उम्मेदवार बनाउने भएको छ । पार्टीले सैंथवारलाई मेयर उम्मेदवार चयन गरेको जिल्ला अध्यक्ष दीपचन्द्र कौशलले जानकारी दिए । 

लिंगका आधारमा हुने भेदभाव अन्त्य गर्न र सामाजिक लाञ्छानाविरुद्ध जागरण ल्याउन तेस्रो लिंगीलाई मेयरमा अवसर दिइएको उनको भनाइ छ । बर्दघाट नगरपालिकामा पनि तेस्रो लिंगीलाई नै उम्मेदवार बनाउनेबारे छलफल भइरहेको कौशलले बताए । फोरमले जिल्लाका ३ वटै नगरपालिका र ४ गाउँपालिकामा उम्मेदवारी दिने जनाएको छ । ‘सबै स्थानमा पिछडा वर्गबाट राजनीतिमा योगदान पुर्‍याउनेलाई टिकट दिइएको छ,’ कौशलले भने ।

रामग्राम नगरपालिका–७ उजैनी घर भएकी गीता लोकप्रिय र सक्षम उम्मेदवार रहेको पार्टीले दाबी गरेको छ । उनको उम्मेदवारीसँगै नगरपालिकामा चर्चा बढेको छ । २०१९ सालमा जन्मिएकी गीताले वैवाहिक जीवनमा बााधिएर महिलाका रूपमा नागरिकता लिएकी छन् । उनको १५ वर्षको उमेरमा साबिक सुक्रौली गाविसका रामजी सैंथवारसँग विवाह भएको थियो । गीता तेस्रो लिंगीको एउटा समूहकै अगुवाइ गर्छिन् । पहिलो संविधानसभा निर्वाचनमा उनी नेपाल युवा किसान पार्टीबाट जिल्लाको क्षेत्र नं. ६ बाट लडेकी थिइन् ।

‘मलाई राजनीतिमा सानै उमेरदेखि रुचि थियो, मुलुकको बिग्रँदो अवस्था, विभेद र कुरीतिलाई चिर्न मेरो उम्मेदवारी हो,’ उनले भनिन् । नगरमा रहेका विपन्नलाई सेवा र सुविधा दिएर खुसी बनाउने उनको योजना छ । ‘समाजले तेस्रो लिंगीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ । हामी पनि केही गर्न सक्छौं भन्ने उदाहरण पेस गर्न चाहन्छु,’ उनले भनिन् । पार्टीले उप–मेयरमा सोही वडाका केवल कुर्मीलाई उम्मेदवार बनाएको छ ।

साभार  : कान्तिपुर दैनिक

यो पनि पढ्नुहोस : नवलपरासीमा मेयर पदका लागि तेस्रोलिंगी उम्मेदवार चयन 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.