खुलेर आऊ समाजले आफै स्वीकार्छ : गायक गुरुङ्ग

खुलेर आऊ समाजले आफै स्वीकार्छ : गायक गुरुङ्ग

काठमाडौं (पहिचान) असार २ – गायक सन्तोष गुरुङ्गले यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगीले आफ्नो अधिकारका लागि पहिला आँफै खुलेर आउनुपर्नेमा जोड दिएका छन् । “पहिला आफैं खुलेर आउनुपर्छ, अनि समाजले बुझ्छ त्यसपछि समाजले आफैं स्वीकार्न थाल्छ,” उनी भन्छन्, “उनीहरु आफैं खुल्न संकोच मानिरहेका कारण पछि परिरहेका छन् ।”

समाजले स्पष्ट रुपमा नबुझे्सम्म कानुन र संविधानमा मात्रै अधिकार उल्लेख भएर विभेद अन्त्य नहुने उनको भनाइ छ ।
गुरुङले गीत सङ्गगीतलाई पनि माध्यमको रुपमा प्रयोग गर्नु पर्ने बताए । गीतसंङ्गीतले धेरैलाई प्रभाव पार्न सक्ने उनको भनाई छ । “हरेक राजनीतिक तथा सामाजिक आन्दोलन तथा क्रान्तिहरुमा गीतको प्रयोग हुने गरेको छ । २००७ सालको आन्दोलन होस या ०४६ र ०६२/६३ सालको जनआन्दोलन, हरेक अन्दोलनमा जनतालाई सरिक गराउन राजनीतिज्ञहरुले गीतलाई प्रयोग गर्ने गरेका छन् ।”

उनले भने, “यो तथ्यलाई नजिर मानेर दलित तथा महिलाले पनि आफ्नो अधिकारका लागि आ आफ्नो गीत बनाएका छन् । यसैगरी समलिंगी तेस्रोलिंगीले पनि आफ्नो अधिकार तथा मुद्दाबारे गीत बनाउनु पर्छ । यो माध्यम आफ्नो अधिकार स्थापित गर्न लागेका यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि एउटा राम्रो र उपयुक्त माध्यम हुन सक्छ ।”
गीतसंङ्गीतलाई कुनै भाषा र भुगोलले छेक्न नसक्ने भन्दै गायक गुरुङ्गले यसलाई अस्त्रको रुपमा प्रयोग गर्न सक्नु पर्नेमा जोड दिए । “रेडियो कार्यक्रम पहिचान नील हिरा समाजको अधिकार प्राप्तीको अभियानमा जसरी प्रभावकारी भएको छ उनले भने, त्यसैगरी गीतसङ्गीत पनि त्यस्तै अर्को सशक्त माध्यम हो जसले व्यक्ति स्वयमले गीत सुनेरै समलिंगी तेस्रोलिंगीप्रति रहेको भ्रम हटाउन सक्छ ।” रेडियो र टेलिभिजन कार्यक्रममा लगानी गरेको नील हिरा समाजले गीतसंङ्गीतमा पनि केही लगानी गर्नु पर्ने उनको भनाई छ ।
“यदी यसमा लगानी गर्छ भने हामी गीत गाउन तयार छौं । म स्वयम पनि समलिंगी तेस्रोलिंगीको अधिकारका बारेमा लेखिएको गीत गाउन तयार छु । तर, त्यसका लागि सम्पूर्ण प्रवन्ध भने नील हिरा समाजले मिलाउन सक्नु पर्छ ।”
समाजमा रहेको परम्परागत मानसिकता र अरुको अस्तित्व स्वीकार गर्न नसक्ने मानवीय प्रवृत्तिका कारण यौनिक तथा लैंगिक अल्पसंख्यकले अनावश्यक दुःख भोग्नु परेको भन्दै उनले यद्यपी पछिल्ला केही वर्ष यता भने यसमा सकारात्मक परिवर्तन आउन थालेको बताए ।

महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीले पनि समान व्यबहार पाउनु पर्ने र राज्यले विशेष ब्यबस्था गर्नु पर्ने लेक्चर समेत रहेका गायक गुरुङ्गको भनाइ छ । यसका लागि सवै पक्षले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.